भालुबाङ २६ कार्तिक । दाङको राप्ती गाउँपालिकाले स्थानीय उद्यमीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र आवश्यकतालाई नजिकबाट बुझ्न उद्योगमै गई उद्यमीहरूसँग अन्तरक्रिया सुरु गरेको छ ।
गाउँपालिकाका रोजगार सेवा केन्द्रका प्रमुख मुमाराम भुसाल र उद्यम विकास शाखा प्रमुख बिनिता चौधरीले पालिकाबाट विभिन्न समयमा सीप र प्रविधि प्रशिक्षण लिई व्यवसाय सञ्चालन गरिरहेका युवा तथा महिला उद्यमीहरूको प्रगति, चुनौती र आगामी आवश्यकताबारे जानकारी लिन उद्योगमै पुगेर अन्तरक्रिया गर्न थाल्नु भएको हो ।
साे अवसरमा व्यवसाय सञ्चालनमा देखा परेका व्यावहारिक समस्याहरू, बजार अभाव, वित्तीय कठिनाइ तथा प्राविधिक सुधारका आवश्यकताका विषयमा छलफल गरिएको थियो ।
रोजगार सेवा केन्द्र प्रमुख मुमाराम भुसालले उद्यमीहरूको दैनिक कामकाजलाई सहज बनाउन र रोजगारी सृजनामा निरन्तरता दिन पालिका प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
उद्यम विकास शाखा प्रमुख विनिता चौधरीले उद्यमीहरूको सीप सुधार, प्राविधिक सहयोग र तालिमका कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखेर पालिका अघि बढिरहेको बताउनुभयो ।
उद्योगीहरूले रोजगार सिर्जना, उत्पादन वृद्धि, र बजार विस्तारका लागि पालिकासँग थप सहयोगको आग्रह गरेका छन ।
यो पहलले पालिका र उद्यमीहरूबीचको सहकार्यलाई बलियो बनाउँदै स्थानीय स्तरमै स्वरोजगारको विकास र आर्थिक सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।