
दाङको तुलसीपुरमा दुई किशोर किशोरीको शव फेला परेको २४ घण्टा वित्दा पनि प्रहरीले घटनाका विषयमा खास क्लु (तथ्य) भेटाउन सकेको छैन ।
तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा घरबाट असोज २७ गते राति हराएका १५ वर्षीया रोशनी महतरा र सोही ठाउँका मामा घरमा बस्दै आएका दंगीशरण गाउँपालिका–६ थपगाउँका १४ वर्षीय शरद आचार्यको शव जंगलमा आइतबार दिउँसो एउटै खाडलमा फेला परेको थियो ।
यो २४ घण्टामा प्रहरीले एक जना टिपर चालकलाई पक्राउ गरेको छ र अनुसन्धानका लागि अन्य केही व्यक्तिलाई पनि नियन्त्रणमा लिएको छ । र सोधपुछ गरेर छाड्दै गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले घटनाका विषयमा खास क्लु भेटाइन नसकेको बताए । उनले घटना कसरी हुन पुग्यो भन्ने विषयमा अझै अन्योल रहेको छ । ‘सामान्य सोधपुछ बाहेक सार्वजनिक गर्ने कुनै तथ्य फेला परेको छैन’ उनले भने ।
प्रहरीले अहिलेसम्म मोबाइल लोकेसन ट्यापिङ गरी एक जना टिपर चालकलाई पक्राउ गरेको छ । शरद–रोशनी हराएको २७ गते राति टिपर चालकले शरदकी हजुरआमालाई फोन गरेको कल डिटेलबाट खुलेकाले उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरी अधिकारी बताउँछन् । त्यसबाहेक घटनाका विषयमा थप तथ्य भेटाउन प्रहरीले सकेको छैन ।
मृतक दुबैको टाउको र अनुहारमा गहिरो चोटपटक देखिएको हुँदा प्रहरीले हत्याको आशंका गरेको छ ।
तुलसीपुर-१३ वडाध्यक्ष मोहन पौडेलका अनुसार शरद–रोशनी दुबै जना दमार गाउँकै अम्बिकेश्वरी माध्यमिक विद्यालय अम्बापुरमा कक्षा ९ मा पढ्दै आएका थिए । किशोरीको आमाबुवा कामको सिलसिलामा भारतमा बस्दै आएका छन् । किशोर सानैदेखि मामाघरमा बस्दै आएका थिए ।
यता शरद- रोशनीका आफन्तले शवको पोष्टमार्टम गर्न दिएका छैनन् । अहिले दुबै जनाको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ ।
दोषी पत्ता नलागेसम्म शवको पोष्टमार्ट गर्न नदिने र आफूहरुले शव नबुझ्ने रोशनीका काका टेकराज महतराले बताए । उनले हत्यारालाई छिटो पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह गरे ।