भालुवाङ १० मंसिर । राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले अहिलेको शिक्षा भनेको संस्कार र सिपयुक्त शिक्षाको आवश्यकता रहेको बताएका छन् । उनले संस्कार र सिपयुक्त शिक्षा बिना मूलक समृद्धि हुनै नसक्ने ठोकुवा समेत गरे । दाङ देउखुरीको राप्ती गाउँपालिका २, लालमटिया स्थित मुनलाइट सेकेण्डरी इङ्गलिस स्कुलको बार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बिष्टले संस्कार र सिपयुक्त शिक्षा नभए कै कारण पछिल्लो समय युवाहरुको आकर्षण बिदेश रहेको बताए ।
बार्षिक उत्सवको उद्धाटन गर्दै अध्यक्षम शिक्षामा लगानी गर्दैमा मात्र केही नहुने बताउँदै अध्यक्ष बिष्टले सोच, बिचार, ब्यबहार, सिप र संस्कार सहितको शिक्षा अहिलेको आवश्यता रहेको बताए। “आफ्ना सन्तानलाई स्कूल भर्ना गर्दैमा, नियमित फिस तिर्दैमा पुग्दैन । आफ्नो सन्तानले स्कूलमा कस्तो पढिरहेको छ । स्कूलमा उसको चालचलन के छ ? ब्यबहार के छ ? भन्ने बुझ्न आवश्यक छ, उनले भने । अहिले १२ पास गरेपछि बिद्यार्थीहरुको रोजाई बिदेश बनेको छ । जुन हाम्रो कारणले भईरहेको छ । हामीले संस्कार र सिप न दिएका कारण नेपाली युवा बिदेश पलायन हुनु परेको छ,”अध्यक्ष बिष्टले स्वीकार गरे ।
स्कूल सञ्चालक समिती अध्यक्ष भोजराज भुसालको अध्यक्षता एवम् राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सोही स्कूलका प्रधानध्यापक बिभिषण अधिकारी, ऐरावती आर्दश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख विक्रान्त ज्ञवाली र आसाका किरण संस्थाका अध्यक्ष असोक बेल्बासे लगायतका बक्ताले शुभकामना मन्तव्य व्यक्त गरे ।
स्कूलका सहायक प्रधानध्यापक छबिलाल थापाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्कूलका पूर्व संञ्चालक समिति अध्यक्षहरु तथा पूर्व प्रधानाध्यापकहरुको योगदानको कदर गर्दै सम्मान समेत गरेको छ । यसरी सम्मानित हुनेहरुमा पूर्व सञ्चालक समिती अध्यक्षहरुमा रुकमाङ्गत ज्ञावाली रामवहादुर कुवर, किरण भण्डारी र श्रीकृष्ण शर्मा रहेका छन् । यस्तै स्कूलका पूर्व प्रधानाध्यापकहरुमा मिनबहादुर बुढाथोकी, छविलाल थापा, रमेश कडेल, हरिविक्रम शाह र पूर्व शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ । उहाँहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सो अवसरमा विद्यार्थीहरुले विज्ञान प्रदर्शनी गर्नुका साथै सांस्कृतिक प्रस्तुति समेत देखाएका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गणेश शर्माले गरेका थिए । वि.सं.२०५९ सालमा स्थापना भएको यस स्कूलमा अहिले कक्षा १२ सम्मको पढाई भईरहेको छ भने स्कूलमा ५ सय ५० विद्यार्थी अध्ययनरत रहनु भएको स्कूलका प्रधानध्यापक बिभिषण अधिकारीले जानकारी दिए ।