देउखुरी ११ मंसिर । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका २, लालमटिया स्थित जय दुर्गे भजन संरक्षण समूहले निलसागर सेवा आश्रम पिपरीमा भजनकृतन गर्दै जिन्सी, खाद्यान्न प्रदान गर्नुका साथै आश्रममा रहेका सडक मानबहरुलाई नास्ता समेत खुवाएको छ ।
वि.सं.२०८१ जेष्ठ २ गते विधिवत रुपमा स्थापना भएको जय दुर्गे भजन संरक्षण समूहले ६ महिना मै पहिलो पटक सामाजिक कार्य अन्तर्गत निलसागरमा आश्रित सडक मानबहरुलाई जिन्सी र खाद्यान्न प्रदान गरेको छ ।
पछिल्लो समय धर्म संस्कृति लोप हुँदै जान थालेको भन्दै संरक्षण गर्नु पर्छ भन्ने मुल उदेश्यका साथ बृद्धा र युवा पुस्तालाई मिलाएर जय दुर्गे भजन संरक्षण समूह गठन गरिएको समूहका सचिव शिबा खनालले जानकारी दिइन् । साथै अहिलेका नयाँ पुस्तामा धर्मकर्म गर्ने प्रचलन हराउँदै जान थालेको र पश्चिमी संस्कृति हाबी हुन थालेको भन्दै सनातन हिन्दु धर्मको संरक्षण गर्ने प्रमुख उदेश्यका साथ १७ सदस्यीय भजन समूह गठन गरिएको सचिव खनालले बताइन् ।
समूहका अध्यक्ष डण्डपानी भण्डारीको नेतृत्वमा आएको भजन समूहले राप्ती गाउँपालिका ८, पिपरीमा रहेको निलसागर सेवा आश्रममा भजन कृतन गर्दै जिन्सी, खाद्यन्न प्रदान गर्नुका साथै आश्रममा रहेका सडक मानबहरुलाई खिर, पुरी र अचार सहितको नास्ता समेत खुवाएको थियो । सो अवसरमा उक्त भजन समूहका १५ जना सदस्यहरुले ब्यक्तिगत रुपमा नगद सहयोग समेत गरेका छन् । १५ जनाबाट कुल ५ हजार ३ सय २० रुपैयाँ नगद सहयोग प्राप्त भएको आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिए ।
यसरी नगद सहयोग प्रदान गर्नेहरुमा समूहका लालमणि भुसाल १ हजार, तारा पोख्रेल १ हजार ५०, राधा बन्जाडे ५ सय १०, शिवा खनाल ५ सय, भगवता न्यौपाने ५ सय, खिमादेवि कुमाल ५ सय, पिमा कँवर २ सय ५, रामप्रसाद अधिकारी २ सय, निता भट्टराई २ सय, सर्मिला थापा २ सय, यमादेवि अधिकारी १ सय ५, हरिदेवि खत्री १ सय, माया थापा क्षेत्री १ सय, सुस्मिता थापा १ सय र युवराज रेग्मी ५० रुपैयाँ प्रदान गर्नु भएको आश्रमका कार्यबाहक अध्यक्ष चौधरीले जानकारी दिए ।
यसैबीच आश्रमका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले सहयोग प्रदान गर्ने भजन समूहलाई धन्यबाद ज्ञापन गरेका छन् । उनले संसारमा सबै भन्दा ठुलो धर्म भनेको दिनदुखीलाई सहयोग गर्नु नै सबै भन्दा ठुलो धर्म रहेको बताए । उहाँले भजन समूहले आश्रममा गरेको दान सबै भन्दा ठुलो धार्मिक कार्य भएको भन्दै प्रशंसा सहित धन्यबाद ज्ञापन गरेका थिए । आश्रममा हाल करिब ३० जना सडक आश्रित मानबहरु बस्दै आएका छन् ।