भालुबाङ १२ मंसिर । दाङको राप्ती गाउँपालिकामा बालबालिकाको कुपोषणको अवस्था पत्ता लगाउन ३ हजार ३ सय ८७ बालबालिकाको पाखुराको नाप लिने अभियान शुरु गरिएको छ ।
कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परिरहेको गम्भीर प्रभावलाई मध्यनजर गर्दै गाउँपालिकाकाे नाै वटै वडाका ६ देखि ५९ महिना सम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न लागिएको हाे ।
यो अभियानकाे बुधबार वडा नम्बर २ लालमटियाबाट औपचारिक रूपमा शुरु गरिएको छ ।
हेलन केयर, भिटामिन एन्जेल र आईडिईको सहयोगमा व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्था द्वारा सञ्चालित ‘पोषण मार्फत जीवन रूपान्तरण परियोजना’ अन्तर्गत यो कार्यक्रम सञ्चालन गरिएको हो ।
बालबालिकाको पाखुराको बिच भागको परिधी मापन गरेर कुपोषणको अवस्था वर्गीकरण गरिन्छ ।
यसरी नाप लिदा ५.५ सेन्टिमिटरदेखि ११.५ सेन्टिमिटर: कडा कुपोषण (रातो चिन्ह),११.५ सेन्टिमिटरदेखि १२.५ सेन्टिमिटर: मध्यम कुपोषण (पहेलो चिन्ह) र १२.५ सेन्टिमिटरभन्दा माथि: सामान्य अवस्था मानिन्छ ।
गाउँपालिकाका ९ वटै वडाका ६४ जना महिला स्वास्थ्य स्वयंसेविकामार्फत बालबालिकाको पाखुराको नाप लिइने योजना रहेको छ ।
परियोजनाको पहिलो चरणमा घरदैलोमार्फत सचेतना फैलाउँदै सबै बालबालिकाको मल्टीसेक्टरल एक्याेन् फर न्यूट्रिसन (मुआक) लिने कार्य गरिनेछ ।
मुआक परीक्षणपछि बालबालिकाको पोषण सुधार गर्न योजना निर्माणमा सहयोग पुग्ने हेलन केयरका फिल्ड संयाेजक अनिल केसीले बताउनुभयाे ।
पाँच वर्षे अवधिमा पालिकाका सबै वडामा लक्षित उमेर समूहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरिने संयाेजक केसीले जानकारी दिनुभयो ।
व्याकवार्ड सोसाइटी एजुकेशन (बेस) संस्थाका जिल्ला सचिव रुपलाल चाैधरीले महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रदायक संस्था, वडा स्तरीय स्वास्थ्य संरचना र सरोकारवालाबीच समन्वय गरेर पोषण सुधारका प्रयासलाई अघि बढाइने बताउनुभयो ।
राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चाैधरीले बालविवाह न्यूनीकरण र पोषणयुक्त खानाबारे सचेतना अभिवृद्धि गर्न जोड दिनुभयाे ।
त्यस्तै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का अध्यक्ष प्रवक्ता पहलवान चाैधरीले बालबालिकाहरु कुपोषणमुक्त भए मात्रै उनीहरूको शारीरिक,मानसिक तथा शैक्षिक अवस्था राम्रो हुने बताउदै याे अभियानलाई सशक्त बनाउनु पर्नेमा जोड दिनुभयाे ।
राप्ती गाउँपालिकामा हाल ०.३५ प्रतिशत बालबालिका कुपोषित रहेको तथ्यांकले देखाएको छ । यसलाई समाधान गर्न यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।