Dangali Onlinekhabar

Advertisment

SKIP THIS

स्रष्टा कृष्ण गिरीद्वारा रचित कविता संग्रह “पसिनाको पोको” लोकार्पण

भालुवाङ ७ पुस ।  पुर्व प्रधानाध्यापक तथा स्रष्टा कृष्ण गिरीद्वारा रचित कविता संग्रह पसिनाको पोको लोकार्पण गरिएको छ ।

देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको आयोजनामा शनिबार दाङको राप्ती गाउँपालिकाको सभाहल मसुरीयामा सो कविता संग्रहको लोकार्पण गरिएको हो । कविता संग्रहको लोकार्पण राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले गरेका छन् ।

मञ्चका अध्यक्ष निमबहादुर थापाको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा भएको कविता संग्रह लोकार्पण कार्यक्रममा बोल्दै प्रमुख अतिथि विष्टले समाज रूपान्तरणमा साहित्यकारको भुमिका महत्त्वपूर्ण रहने बताए । कलमका माध्यमबाट समाजमा हुने हरेक किसिमका विकृति अन्त्यका लागि साहित्यकारहरूलाई कलम चलाउन आग्रह गरेका छन् ।

सो अवसरमा राप्ती इन्जिनियरिङ कलेज दाङका अध्यक्ष शैलेन्द्र गिरी, प्रलेशका उपाध्यक्ष रेशम बिसी, पुर्व प्रधानाध्यापक बलराम ज्ञवाली, आजिवन सदस्य खगेश्वर शर्मा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । मञ्चकी उपाध्यक्ष योगमाया शाहीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन सचिव बालमुकुन्द आचार्यले गरेका थिए ।

वि.सं. २००९ साल साउन १ गते साविक झिम्रुक-६ दहखोला प्युठानमा बुवा डोरू गिरी र आमा गार्दी गिरीको कोखबाट ४ भाइ मध्येको जेठो सन्तानका रूपमा जन्मिएका कृष्ण गिरी हाल दाङको राप्ती गाउँपालिका-४ माैरीघाटमा स्थायी बसोबास गर्दै आएका छन् । भारतको आगरा विश्व विद्यालयबाट विए सम्मको अध्ययन गरेका गिरीले २०२९ साल पुस देखि २०६९ साल असार सम्म दाङ देउखुरीका विभिन्न विद्यालयहरूमा ३० वर्ष प्रधानाध्यापक र १० वर्ष शिक्षक गरी जम्मा ४० वर्ष शिक्षण पेसा रहेर काम गरेका थिए ।

उनले वि.सं. २०६४ सालमा पहिलो कृतिको रूपमा दहखोले महन्थहरूको (गिरी) वंशावली, “खकन” कविता संग्रह प्रकाशन पछि दोस्रो कृतिको रूपमा “पसिनाको पोको” प्रकाशन गर्नु भएको छ । प्रकाशोन्मुख कृतिको रूपमा कर्मभोगको यात्रा प्रकाशन गरेका छन् । गिरीले दुई दर्जन भन्दा बढी शैक्षिक तथा साहित्यिक संस्थाहरूबाट पुरस्कार कदर पत्र, सम्मान पत्र, आदर पत्र प्राप्त गरेका छन् । भने दीर्घशिक्षक सेवा र आफ्नो विषयमा सत-प्रतिशत विद्यार्थी उतीर्ण गराउन सफल भनी जिल्ला शिक्षा कार्यालय दाङबाट एकैपटक दुईवटा सम्मान पत्र प्राप्त गरेका छन् ।

गिरी विभिन्न संघसंस्थामा आवद्व छन् । उनी नेपाल रेडक्रस सोसाइटी लालमटियाको आजीवन सदस्य, राप्ती साहित्य परिषद दाङको आजीवन सदस्य, देउखुरी साहित्य तथा साँस्कृतिक मञ्चको आजीवन सदस्य, देउखुरी बहुमुखी क्याम्पसको संस्थापक सदस्य सहित आजीवन सदस्य, ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती गाउँपालिका-२, बराखुट्टीको लेखा समितिको संयोजक सहित आजीवन सदस्य, नेपाल निवृत शिक्षक समाज राप्ती गाउँपालिका दाङको अध्यक्ष सहित आजीवन सदस्य, सिरिनभ्याली पब्लिक स्कूल मौरिघाट दाङको अनुगमन संयोजक सहित संस्थापक सदस्य र हरियाली बचत तथा ऋण सहकारी संस्था सिसहनियाँको सल्लाहकार सदस्य छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation