सिसहनियाँ ७ पुस । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले च्याउ खेतीलाई सहकारीमार्फत सामूहिक रूपमा व्यवसायिक बनाउन आग्रह गर्नुभएको छ ।
आइतबार राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा च्याउ खेतीसम्बन्धी एकदिने तालिम उद्घाटन गर्दै अध्यक्ष विष्टले उत्पादन सँगसँगै बजारीकरणलाई पनि विशेष प्राथमिकता दिनुपर्ने बताउनुभएको हाे ।
अध्यक्ष विष्टले भन्नुभयो, “च्याउ खेतीलाई सहकारीको माध्यमबाट व्यावसायिक बनाउनु आवश्यक छ । सहकारीले सामूहिक प्रयासमार्फत लागत घटाउँछ, उत्पादन बढाउँछ र बजारसम्म पुग्न मद्दत गर्दछ। पालिकाले च्याउ खेतीलाई आर्थिक समृद्धिको प्रमुख साधन बनाउन आवश्यक सबै सहयोग उपलब्ध गराउनेछ ।”
त्यस्तै उहाँले सहभागी महिलाहरूलाई तालिममा सिकेका कुराहरू व्यवहारमा उतार्न र सहकारीमार्फत दीर्घकालीन योजना बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा पालिकाकी उपाध्यक्ष कमलापती चौधरीले महिलाहरूको आत्मनिर्भरता र सामूहिक प्रयासले च्याउ खेतीलाई दिगो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कृषि ज्ञान केन्द्र दाङको आयोजना र बगर कृषि सहकारी संस्था लिमिटेड राप्ती ५ सिसहनियाँको सहकार्यमा सम्पन्न तालिममा ३० जना महिलाको सहभागीता रहेको थियो । तालिममा वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, कार्यपालिका सदस्य रणबहादुर पुजाली, सावित्री चौधरी, कृषि प्रविधि निर्मला गिरी, निर्मला पौडेललगायतको उपस्थिति रहेको थियो ।
उक्त तालिमले च्याउ खेतीकाे प्राविधिक ज्ञान र व्यावसायिक सम्भावनाबारे सहभागीहरुलाई मार्गदर्शन गरेको ज्ञान केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत पिताम्बर बस्नेतले बताउनुभयो ।