देउखुरी १० पुस । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै, सबै धर्म र संस्कृतिलाई समान आदर गरिएको बताउनु भएको छ ।
क्रिसमस पर्वको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक र सांस्कृतिक विविधतालाई सम्मान गर्दै सबै धर्म र सांस्कृतिलाई समान आदर गरिएको बताउनु भएको हो ।
बुधवार एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी दिदीवहिनी तथा दाजुभाइहरूप्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको हो ।
‘लुम्बिनी प्रदेशले सबै धर्म र संस्कृतिलाई समान आदर गर्दछ । जसले एकता मजवुत छ । यो पर्वले हामी सबैमा प्रेम, शान्ती र सहिष्णुताको सन्देश अभिव्यक्त गर्दछ । तसर्थ सवै प्रदेशवासीमा सुख, शान्ती र समृद्धीको कामना गर्दछु’शुभकामना सन्देशमा भनिएको छ,‘यस्ता चाडपर्वहरूको माध्यमवाट विविध सांस्कृतिक पहिचान एवम् धार्मिक आस्था बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि भई आपसी एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।’
इसाई धर्मका अनुयायीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक एवम् सांस्कृतिक उत्सवका रूपमा विविध कार्यक्रमहरूको आयोजना गरी क्रिसमस डे मनाउने गर्दछन् ।