भालुबाङ १९ पौष । दाङको राप्ती गाउँपालिकामा पहिलोपटक कृषि हाटबजार सञ्चालनमा आएसँगै किसानहरू उत्साहित भएका छन् ।
गाउँपालिकाको आयोजना तथा राप्ती कृषि हाट बजार व्यवस्थापन तथा सञ्चालन समितिको समन्वयमा हाटबजार सञ्चालन गरिएको हो ।
राप्ती गाउँपालिका–३ मसुरीयादेखि उत्तरपट्टि रहेको सिरीचौर मैदानमा सञ्चालित हाटबजारमा ७५ किसानले आफ्नो उत्पादन बिक्रीका लागि राखेका थिए ।
किसानले तरकारी, फलफूल, कपडा, डल्कुशन, साबुन, हार्पिक, धूप,दुना टपरी र बाँसका सामग्रीहरू समेत प्रदर्शन तथा बिक्री गरेका थिए ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शुक्रबार हाटबजारको औपचारिक उद्घाटन गर्दै अबदेखि प्रत्येक शुक्रबार हाटबजार सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँले हाटबजारले किसानहरूलाई उत्पादन बिक्री गर्न सहज बनाउने र बिचौलियाको चलखेललाई नियन्त्रण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“हाटबजार नहुँदा किसानले आफ्नो उत्पादन टोकरीमा राखेर घरघरमा बेच्नुपर्ने बाध्यता थियो । अब, हाटबजारले किसानलाई उत्पादनको उचित मूल्य दिलाउन मद्दत पुर्याउनेछ,” अध्यक्ष विष्टले बताउनुभयो। साथै, उहाँले हाटबजारको व्यवस्थापनलाई दीर्घकालीन बनाउने विशेष योजना अगाडि सारिएको जानकारी दिनुभयो ।
पालिकाकी उपाध्यक्ष कमलापति चौधरीले हाटबजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने र कृषकहरूलाई थप लगानी गर्न प्रोत्साहन दिने बताउनुभयो। “हाटबजारले उपभोक्ताहरूलाई गुणस्तरीय र सस्तो उत्पादन उपलब्ध गराउनेछ,” उहाँले भन्नुभयो ।
वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारीले हाटबजारले स्थानीय स्तरमा रोजगारीको सृजना गर्ने र कृषिमा आधारित अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउने बताउनुभयो ।
राप्ती कृषि हाट बजार व्यवस्थापन समितिका अध्यक्ष दुर्योधन पाण्डेको अध्यक्षता तथा पालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रम पालिका उपाध्यक्ष कमलापती चौधरी, वडा नम्बर ३ का अध्यक्ष उमेश अधिकारी, हाट बजार व्यवस्थापन समितिका सचिव राजकुमार आर्चाय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष वीर बहादुर चाैधरी, ५ का अध्यक्ष देव प्रसाद चाैधरी, राजधानी जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेस चाैधरी लगायतअन्य जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी र किसानहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
कृषि विकास शाखा प्रमुख बरसाती गडरियाले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमकाे सहजीकरण आर्थिक विकास शाखा प्रमुख दामोदर आचार्यले गर्नुभयो ।
हाटबजारको नियमित सञ्चालनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ ।