भालुबाङ २२ पुस । दाङको राप्ती गाउँपालिकाले गरिब र असहाय परिवारलाई किरिया खर्चका लागि ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूलाई उक्त किरिया खर्च दिन थालिएको गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकामा बसोबास गर्ने गरिब तथा असहाय परिवारलाई मृत्यु संस्कार गर्दा लाग्ने आर्थिक समस्यालाई मध्यनजर गर्दै यो सहयोगको व्यवस्था गरिएको हो ।
“गरिबीका कारण अन्त्येष्टि र किरिया संस्कारमा समस्या झेल्नुपर्ने अवस्थाको अन्त्य गर्न हामीले यो योजना ल्याएका हौं । यसले गरीब, असहाय परिवारलाई केही हदसम्म राहत प्रदान गर्नेछ,” विष्टले भन्नुभयो ।
यो सहयोग प्राप्त गर्न सम्बन्धित वडाबाट गरिबी तथा असहाय भएको सिफारिस पेश गर्नुपर्नेछ ।
गाउँपालिकाले यो सहयोग छिटो र सहज रूपमा उपलब्ध गराउने जनाएको छ ।
गाउँपालिकाको यो कदमले गरीब एवम् असहाय वर्गका लागि राहतको काम गर्ने विश्वास व्यक्त गरिएको छ ।