भालुबाङ २७ पुस । दाङको राप्ती गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नती हुने भएको छ ।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको पहलमा पूर्वमन्त्री खड्ग बस्नेत लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा सहकारी मन्त्रालयमा मन्त्री भएको समयमा विनियोजित बजेट कार्यान्वयनसँगै ती स्थलहरूको स्तरोन्नती हुने भएको हो ।
पालिकाका पाँच प्रमुख पर्यटकीय स्थलहरूको विकासका लागि पर्यटन डिभिजन कार्यालय, कोहलपुर बाँकेमार्फत काम हुने करिब ६५ लाख रुपैयाँ बजेट विनियोजन भएको छ। यस अन्तर्गत, वडा नं. १ को रामजहदी हरित पार्क, वडा नं. २ को हर्षेडाँडा मन्दिर, वडा नं. ५ को खाैराबाबा, भुल्के, र वडा नं. ८ को शिव मन्दिरको विकास तथा स्तरोन्नती गरिनेछ ।
उक्त बजेट कार्यान्वयनका लागि शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, पर्यटन डिभिजन कार्यालय कोहलपुर बाँकेका निमित्त कार्यालय प्रमुख टंकनाथ खनाल, इन्जिनियर राजकुमार निरौला लगायत अन्य जनप्रतिनिधिहरुले स्थानीय नागरिकहरूको सहभागितामा उक्त क्षेत्रकाे स्थलगत अवलोकन गर्नु भएको छ ।