दाङ २७ पुस । दाङको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँ कालापानीमा आयोजित दोस्रो सिसहनियाँ कृषि तथा औद्योगिक महोत्सव २०८१ मा खाद्यपदार्थ बिक्री वितरण गर्ने स्टलहरूको शनिबार अनुगमन गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बराल, खाद्य निरीक्षणद्वय विवेक कुमार सुवेदी र सुदर्शन गोसाई, इलाका प्रहरी कार्यालय, सिसहनियाँका प्रहरी नायब निरीक्षक रकम खड्का, प्रहरी सहायक हवल्दार रविन्द्र नेपाली, तथा सिसहनिया उद्योग वाणिज्य संघका अध्यक्ष पूर्ण बहादुर बुढाथोकी सहितको संयुक्त टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीले महोत्सवमा रहेका १५ वटा खाजा नास्ता पसल र ५ वटा दालमोठ, भुजिया, मिठाई तथा अचार बिक्री गर्ने स्टलहरू गरी कुल २० वटा खाद्य स्टलहरूको निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका १५ लिटर हल्का पेय पदार्थ, ७ किलोग्राम हाईड्रो राखेर तयार गरिएका जेरी, ६ डब्बा हाईड्रो, २ किलोग्राम रङ मिसाइएको पकौडा, ८० थान कटन क्यान्डी, र २० किलोग्राम रङ मिसाइएको चिनी गरी करीब १० हजार रुपैयाँ बराबरका वस्तु जफत गरी नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका कार्यालय प्रमुख पदम बरालले जानकारी दिनुभयो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण नगर्न, खाद्य नियमले निषेध गरेका रङ तथा रसायन प्रयोग नगर्न, पूर्ण विवरणसहित लेबलिङ गरिएको खाद्यवस्तु मात्र बिक्री गर्न तथा स्वच्छता कायम गर्न निर्देशन दिइएको कार्यालय प्रमुख बरालले बताउनुभयो ।
त्यस्तै कार्यालय प्रमुख बरालले नियम उल्लंघन गरेको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार कारबाही गरिने समेत बताउनुभयो ।