
गढवा ८ माघ । गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालन भैरहेको भिटा परियोजना गढवा गाउँपालिकाका कृषि तथा पशुपालक कृषकहरुको लागि प्रभावकारी भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले बताउनुभएको छ ।
गढवा गाउँपालिकाले आयोजना गरेको बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताउनुभएको हो ।
गढवा गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको समन्वयमा सञ्चालन भैरहेको साना किसान तथा युवा उद्वमशिलता साझेदारी परियाेजना (भिटा परियोजना) गढवाका गरिवि रेखामुनी रहेका किसानहरुको जिवन स्तरलाई माथी उकास्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । यो परियोजना मार्फत गढवाका कृषक, उद्यमी महिला दिदिबहिनीहरुलाई आत्मनिर्भर बन्नका लागि उद्यम गर्ने दिशामा भोक जगाएको बताउनुभयो । क्म गर्ने लाई भोक जगाएको छ भने काम नगर्नेहरुलाई आत्मग्लानिको अनुभूति गराएको बताउदै मुख्यमन्त्री आचार्यले सबै दिदि बहिनीहरु उत्पादनको क्षेत्रमा जोड्न र जोडाउन अग्रसर भएको बताउनुभयो ।
गढवा गाउँपालिकाले महिला शसक्तिकरण र आत्मनिर्भरका लागि व्यवसायिक उत्पादनमा जोड दिएको भन्दै गाउँपालिका लाई धन्यवाद समेत दिनु भयो । साथै मुख्यमन्त्री आचार्यले व्यवसायिक रुपमा दुग्ध उत्पादन गर्ने, खसीबोकाको बजारीकरण गर्ने किसानलाई प्रदेश सरकारको तरफबाट अनुदानको कार्यक्रम बारे जानकारी दिनुभयो । २०७४ साल पछी गढवामा उदाहरणीय बिकाश निर्माणको कार्य भैरहेको बताउदै मुख्यमन्त्री आचार्यले संघ, प्रदेश र स्थानीय सरकारको पहलमा गढवामा थुप्रै विकाशका काम सम्पन्न भएको केही निर्माणाधीन रहेको बताउनुभयो। बाटो, पुल पुलेसा, खानेपानी, शिक्षा र स्वास्थ्यको क्षेत्रमा उदाहरणीय कार्य भएको बताउनुभयो । गढवा गाउँपालिकाले २ जना एम बिबिएस डाक्टरको व्यवस्थापन गरेर गढवा स्वास्थ्य चौकीबाट इमर्जेन्सी सेवा सुचारु गर्नु आफैमा नमुना काम भएको बताउनुभयो ।
त्यसैगरी बाख्राको पहिलो पुस्ता उपहार प्रदान कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले महिलाहरुलाई आत्मनिर्भर बनाउन, सक्षम बनाउन र नेतृत्व गर्ने खालको जनशक्ति उत्पादन गर्नुका साथै व्यवसायिक उत्पादनमा जोड्न भिटा परियोजना मार्फत ठुलो कार्यक्रम सञ्चालन गरेको बताउनु भयो। गढवाका महिला दिदिबहिनीहरुले एकसाथ १ सय ६ वटा बाखाका पाठी समूहका दिदिबहिनीहरुलाई उपहार प्रदान गर्नु आफैमा खुसीको कुरा भएको बताउनु भयो ।
गढवाका कृषकहरुलाई उत्पादन र बजारीकरणमा जोडदिन आफुहरु निर्वाचित भएर आएदेखी निरन्तर लागेको बताउनुभयो । गढवा गाउँपालिकामा चिस्यान केन्द्र अन्तिम चरणमा रहेको छ भने गढवा कृषि उपज संकलन केन्द्र सुचारु भएको। त्यसैगरी गढवाका भैसी पालक कृषकहरुको लागि दुग्ध संकलन केन्द्रको निर्माण कार्य अन्तिम चरणमा पुगेको र अब केही दिनमै सञ्चालनमा आउने बताउनुभयो । त्यसैगरी गढवाका आम नागरिकको लागि स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गढवा स्वास्थ्य चौकीबाट २४सै घण्टा इमर्जेन्सी सेवा सुचारु गरेको बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शारदा कुमारी चौधरी, १ नम्बर वडा अध्यक्ष बाबुराम अधिकारी, हेफर प्रोजेक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत महेश आचार्य लगायतकाले बोल्नु भएको थियो ।
कार्यक्रममा गढवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पौड्याल, वडाअध्यक्षहरु बाबुराम अधिकारी, अब्दुल खालिक सिद्दिकी, बिर बहादुर आले मगर, कार्यपालिका सदस्यहरु, इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्की, गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेल, समाजसेवी उमाकान्त पन्त, बिभिन्न संघ संस्थाका प्रतिनिधि तथा उद्यमी महिला समूहका सदस्यहरू, पत्रकार लगाएतकाको सहभागिता रहेको थियो ।
गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड गढवाकी अध्यक्ष सोभा रावत क्षेत्रीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण गढवा गाउँपालिकामा सञ्चालित भिटा परियोजनाका कार्यक्रम संयोजक बसन्त कुमार शर्माले गर्नुभएको थियो ।