
निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले सञ्चारमाध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने आचरणबारे जानकारी गराएको छ । आयोगले दल तथा उम्मेदवारलाई चुनाव प्रचारसम्बन्धी पाँच बुँदे आचरणको सीमा तोकेको हो ।
अब पार्टीहरुले निजी क्षेत्रको टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट निर्वाचन प्रसारप्रसार गर्दा कम्तिमा एक घण्टाको अन्तरालमा गर्नुपर्ने छ । साथै एक दिनमा बढीमा चार पटक र एक पटकमा बढीमा एक मीनेटसम्म मात्र प्रशारण गराउन पाइनेछ ।
त्यस्तै, निजी क्षेत्रको पत्रिकाबाट प्रचार गर्दा प्रत्येक दिन बढीमा सात इन्चसम्मको आकारमा कुनै एउटा पत्रिकामा मात्रै आफ्नो प्रचार सामग्री छपाउन सकिने आयोगले स्पष्ट पारेको छ ।
प्रदेशसभा सदस्य पदको निर्वाचनमा भाग लिएका उम्मेदवारले टेलिभिजन, रेडियो वा एफ.एम. रेडियोको माध्यमबाट प्रचारप्रसार गर्दा कम्तिमा एक घण्टाको अन्तरालमा २४ घण्टामा बढीमा तीन पटक र एक पटकमा बढीमा एक मीनेटसम्म प्रशारण गराउन पाउनेछन् ।
प्रतिनिधिसभा सदस्यका उम्मेदवारको हकमा २४ घण्टामा चार पटक र एक पटकमा एक मीनेट प्रशारण गर्न पाइने आचरणमा उल्लेख छ । विदेशी सञ्चारमाध्यमबाट निर्वाचन प्रचार सामग्री प्रकाशन वा प्रशारण गर्न भने आयोगले पूर्णत: रोक लगाएको छ ।