धनगढी । बिहीबार डडेलधुराबाट चुनावी अभियान सुरु गर्न प्रधानमन्त्री शेरबहादुर देउवा दिउँसो १२ बजे डडेलधुरा आइपुग्ने कार्यक्रम तय थियो । एक घण्टाअघि नै उनीसँग चुनावी प्रतिस्पर्धा गरिरहेका गुल्मीका युवक सागर ढकाल बसपार्कमा उनको स्वागतका लागि माला बोकेर उभिएका छन् ।
तर‚ देउवा निर्धारित समयमा नपुगेपछि कांग्रेस कार्यकर्तासँगै ढकाल पनि तीन घण्टादेखि स्थानीय बसपार्कमा स्वागत गर्ने लाइनमा प्रतीक्षामा उभिएका छन् । १२ बजे आउने कार्यक्रम भए पनि साढे ३ बज्दासम्म पनि देउवा डडेलधुरा पुगेका छैनन् । तर‚ धीरतापूर्वक उनका प्रतिस्पर्धी ढकाल भने कांग्रेस कार्यकर्तासँगै प्रतीक्षामा उभिएका छन् ।
ढकालले देशको प्रधानमन्त्रीको स्वागत गर्नका लागि आफू उभिएको सञ्चारकर्मीहरूलाई बताए । उनले भने‚ ‘सदैव मतदाताले स्वागत गरे यसपटक म उनको प्रतिस्पर्धामा उभिएको उम्मेदवार पनि लाइनमा उभिएको छु ।’ बाजे पुस्ता र नाती पुस्तामा यही फरक हो ढकालले भने‚ ‘जनताले पनि यो पुस्तान्तरणलाई बुझ्न सकून् भनेर म उनको स्वागतको प्रतीक्षामा माला बोकेर उभिएको हुँ ।’