
काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका दिनमा आउनसक्ने विपद् व्यवस्थापनका लागि सरकार तयारी अवस्थामा रहेको बताएको छ । सरकारले मंसिर ४ गते आउनसक्ने प्राकृतिक प्रकोप तथा मौसमी प्रतिकूलताको सम्बन्धमा आकलन गरी व्यवस्थापनको निम्ति तयारी अवस्थामा रहेको बताएको हो ।
गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख सहसचिव प्रदीपकुमार कोइरालाले निर्वाचनको दिन आउनसक्ने प्रकोपको सम्भावनालाई मध्यनजर गरेर सरकार तयारी अवस्थामा रहेको बताए । उनले जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने र्यापिड रेस्पोन्स फोर्सलाई तयारी अवस्थामा राख्ने बताए ।
सडक, खोला, नदी तथा तटबन्धमा हुने अवरोध तथा जोखिमलाई व्यवस्थापन गर्न सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए । सहसचिव कोईरालाले सम्भावित विपद्को आकलन गर्दै सबै सरकारी र गैरसरकारी संयन्त्रलाई तयारी अवस्थामा राखिएको स्पष्ट पारे । निर्वाचनको दिनसम्म सरकार सबै प्रकारको समस्या समाधान गर्न तयारी अवस्थामा रहने बताए ।
उनले स्थानीय तहको निर्वाचनमा जल तथा मौसम विज्ञान विभागले दिएको पूर्वसूचनाका आधारमा सबै संयन्त्रहरू तयारी अवस्थामा राखिएको जानकारी दिए ।
‘विशेषगरी निर्वाचनको समयमा बेमौसमी रुपमा पानी पर्नसक्ने, पहिरो जानसक्ने, बाढी आउनसक्ने, अन्य प्रकारको प्रकोपहरू आउनसक्ने सम्भावनातर्फ इंगित गरेर हाम्रो जिल्लामा रहेको सुरक्षा निकायहरूको र्यापिड रेस्पोन्स फोर्स हुन्छ सिडियोको नियन्त्रणमा । सिडियोले संयोजन गरेर सबैलाई अलर्ट अवस्थामा राख्ने भनेर मन्त्रालयबाट परिपत्र पनि अब गरिहाल्छौँ । जस्तै सडक अवरुद्ध हुनसक्छ । त्यसको लागि सडक खुलाएर तयारी अवस्थामा रहनु । कुनै नदी, तटबन्धमा जोखिम हुनसक्छ, पहिरो जानसक्छ भनेर हामीले सम्वद्ध निकायहरूलाई तयारी अवस्थामा रहनु भन्छौँ । लजिस्टिक क्लष्टरका सरकारी र गैरसरकारी तहका मेम्बरहरूलाई समेत सामग्री ढुवानीको लागि तपाईहरू तयारी अवस्थामा रहनुहोला भनेर अद्यावधिक मिटीङहरू, छलफल गर्छौं र हामीले उहाँहरूलाई अलर्ट राख्छौँ’, सहसचिव कोइरालाले ‘त्यसकारण अहिले निर्वाचनलाई लक्षित गरेर सम्भावित विपद् के–के आउनसक्छ भनेर आँकलन गरेर त्यसका लागि हाम्रो सबै सरकारी संयन्त्र र गैरसरकारीलाई समेत हामीले अलर्ट अवस्थामा राखेका छौँ । निर्वाचनसम्मै अलर्ट अवस्थामा राख्छौँ । हामी रेस्पोन्सको लागि तयारी अवस्थामा छौँ ।’
सहसचिव कोइरालाले जल तथा मौसम विज्ञान विभागले दिने पूर्वसूचनाको आधारमा मौसमी प्रतिकूलताका कारण आइपर्ने समस्या समाधानमा केन्द्रित हुने बताए ।