
काठमाडौं । प्रदेश तथा प्रतिनिधिसभाको ८२५ सिटका लागि १२ हजार बढी उम्मेदवारले निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् । निर्वाचन आयोगका अनुसार अबको निर्वाचनमा १२ हजार बढी उम्मेदवारलाई १ करोड ७९ लाख ८५ हजार ५ सय ७० जना मतदाताले मताधिकार प्रयोग गर्नेछन् ।
निर्वाचन आयोगको तथ्यांकअनुसार यसपटक १२ हजार ९३ उम्मेदवार छन् । आयोगले बिहीबारबाट चुनावी प्रचार-प्रसारका लागि अनुमति पनि दिएको छ । जसअनुसार दलका नेता र उम्मेदवारहरू मतदातको घरदैलोमा पुगेका छन् । कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार-प्रसार गर्न सक्ने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले स्थानीय तहमार्फत मतदाता शिक्षाका लागि कम्तीमा ६ हजार ७ सय ४३ जना स्वंसेवक खटाएको छ । कुन तहमा कति उम्मेदवार ? प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक गरी २ सय ७५ सिटका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ । प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक गरी ५ सय ५० सिटका लागि निर्वाचन हुन्छ । यी सबै ८ सय २५ सिटमा कुल १२ हजार ९३ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभाको प्रत्यक्षतिरको १ सय ६५ सिटका लागि २ हजार ४ सय १२ उमेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभाकै समानुपातिकतर्फको १ सय १० सिटका लागि २ हजार ४ सय २ उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यसैगरि प्रदेशसभाको प्रत्यक्षतर्फ ३ सय ३० सिटका लागि ३ हजार २ सय २४ र समानुपातिकतर्फ २ सय २० सिटमा ४ हजार ५५ जनाको उम्मेदवारी छ ।