
सिसहनियाँ ५ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. ५ पुनखोलामा तीन दिने महिला क्षमता विकास तथा सशक्तीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालित उक्त कार्यक्रममा ३० जना महिलाहरूको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले महिलाहरूको आत्मनिर्भरता, सामाजिक सहभागिता र नेतृत्व विकासका लागि यस्ता तालिमहरू प्रभावकारी हुने बताउनुभयो ।
उहाँले महिला सशक्तीकरणका लागि आर्थिक, शैक्षिक तथा कानूनी ज्ञानको आवश्यकताको उल्लेख गर्दै गाउँपालिकाले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने बताउनुभयो ।
साथै, उहाँले समाजको समुन्नति महिलाहरूको सशक्तीकरण बिना सम्भव नभएको बताउँदै सहभागी महिलाहरूलाई आफ्नो क्षेत्रमा सिकेका ज्ञान र सीपलाई व्यवहारिक रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
त्यस्तै, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवन कुमारी जिसीले महिला अधिकार, लैंगिक समानता, आत्मनिर्भरता तथा नेतृत्व विकास विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले महिलाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सहभागिताका अवसरहरूमा कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेमा विस्तृत जानकारी दिनुभएको थियो ।
पञ्जीकरण शाखा प्रमुख नारायण बहादुर राउतले महिला सशक्तीकरणमा कानूनी पहिचानको महत्त्व र नागरिकता सम्बन्धी कानूनी प्रावधानहरू विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले महिलाहरूलाई कानूनी अधिकार, नागरिकता प्राप्ति प्रक्रिया, विवाह दर्ता, जन्म दर्ता तथा अन्य कानूनी प्रक्रियाहरूबारे विस्तृत जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा सहभागी महिलाहरूले यस्ता तालिमहरूले आफ्नो आत्मविश्वास बढाएको, समाजमा नेतृत्व लिन प्रेरित गरेको तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन् । साथै, उनीहरूले आगामी दिनमा पनि यस्ता उपयोगी तालिमहरू निरन्तर सञ्चालन गर्न माग गरेका छन् ।