
भालुबाङ ७ चैत । दाङको राप्ती गाउँपालिका वडा नम्बर १, पाखापानीस्थित नव प्रतिभा आधारभूत विद्यालयकाे चार कोठे पक्की भवन निर्माण कार्यको बिहीबार शिलान्यास गरिएको छ ।
विद्यालयको भौतिक संरचना अभावले पठनपाठनमा समस्या भइरहेको बेला गाउँपालिकाले ६० लाख रुपैयाँको बजेट विनियोजन गरी भवन निर्माण अघि बढाएको हो ।
भवनको शिलान्यास गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षा क्षेत्रमा भौतिक पूर्वाधारको विकासलाई पालिकाले उच्च प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “शिक्षा प्रत्येक नागरिकको आधारभूत अधिकार हो । विद्यालयको राम्रो भौतिक संरचना भए मात्र शिक्षालाई प्रभावकारी बनाउन सकिन्छ। नव प्रतिभा विद्यालयका विद्यार्थीले विगतमा जीर्ण भवनका कारण कठिनाइ खेप्नुपरेको थियो । अब नयाँ भवन निर्माण भएपछि उनीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउनेछन् ।”
अध्यक्ष विष्टले गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण पद्धति सुधार्नुपर्नेमा पनि जोड दिनुभयो । उहाँले थप्नुभयो, “विद्यालय भवन मात्र बनाएर पर्याप्त हुँदैन, शिक्षकहरूको दक्षता अभिवृद्धि, पाठ्यक्रममा नवीनतम प्रविधिको प्रयोग र विद्यार्थीको सिर्जनात्मक क्षमतालाई प्रोत्साहन गर्ने वातावरण पनि आवश्यक छ ।”
विद्यालय भवन निर्माणको जिम्मा गोल अफ सक्सेस कन्ट्रक्सन प्रालि प्यूठानले लिएको छ ।
विद्यालयका प्रधानाध्यापक निर्मला बन्जाडेले विद्यालयमा भौतिक पूर्वाधारको अभावले विद्यार्थीको सिकाइ प्रक्रियामा असर परेको बताउँदै नयाँ भवन बनेपछि पठनपाठन सहज हुने आशा व्यक्त गर्नुभयो । “हाम्रो विद्यालयमा भवन अभावकै कारण विद्यार्थीहरूलाई पठनपाठनमा समस्या थियो । अब नयाँ भवन बनेपछि शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पर्नेछ,” प्रधानाध्यापक बन्जाडेले भन्नुभयो ।
शिलान्यास कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष गेम बहादुर खड्का, वडा सदस्य पार्वती सुवेदी, आत्माराम पौडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामलाल पोखरेल, समाजसेवी गन्ज बहादुर विष्ट लगायत शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।