सिसहनियाँ १३ चैत । दाङको राप्ती गाउँपालिका वडा नं. २ स्यानीघोसमा तीन दिने महिला क्षमता विकास तथा सशक्तीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सञ्चालन गरिएको उक्त कार्यक्रममा २६ जना महिलाको सहभागिता रहेको थियो ।
कार्यक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख जीवनकुमारी जिसीले महिला अधिकार, लैंगिक समानता, आत्मनिर्भरता र नेतृत्व विकासका विषयमा प्रशिक्षण दिनुभयो । उहाँले महिलाहरूलाई स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सहभागिताका अवसरहरूमा अगाडि बढ्नका लागि प्रेरित गर्नुभयो ।
पशु विकास शाखा प्रमुख दामोदर आचार्यले पशुपालन र व्यवसाय विकासका विषयमा प्रशिक्षण दिनुभएको थियो भने कृषि विकास शाखा प्रमुख वरसाती गडरियाले आधुनिक कृषि प्रणाली र उत्पादन वृद्धि सम्बन्धी जानकारी दिनुभएको थियो ।
पञ्जीकरण शाखा प्रमुख नारायण बहादुर राउतले महिलाको कानूनी पहिचान, नागरिकता प्राप्ति प्रक्रिया, विवाह दर्ता, जन्म दर्ता र अन्य कानूनी विषयमा प्रशिक्षण दिनुभयो। त्यस्तै, सरसफाइ सुुपरिवेक्षक सुरेश बैमा मगरले व्यक्तिगत र सामुदायिक सरसफाइका उपायबारे जानकारी दिनुभएको थियो ।
उद्यम विकास शाखा प्रमुख बीनिता चौधरीले साना व्यवसाय सुरु गर्न आवश्यक सीप र ज्ञानबारे प्रशिक्षण दिनुभयो । रोजगार सेवा केन्द्रका राजेश कुमार चौधरीले रोजगारीका अवसरहरू पहिचान गर्न र आर्थिक रूपमा सशक्त बन्ने उपायहरूबारे जानकारी गराउनुभयो ।
समापन कार्यक्रममा गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का अध्यक्ष पहलवान चौधरीले महिलाहरूको आत्मनिर्भरता र नेतृत्व विकासका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष गेम बहादुर खड्का, वडा सदस्य पीमा गाहा मगरलगायतको उपस्थिति रहेको थियो ।
सहभागी महिलाहरूले यस्ता तालिमले आत्मविश्वास बढाएको, नेतृत्व गर्न प्रेरित गरेको र आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुगेको बताएका छन् । उनीहरूले आगामी दिनमा पनि यस्ता तालिमहरू सञ्चालन गर्न माग समेत गरेका छन् ।











