भालुवाङ १६ चैत । लुम्बिनी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजित थारूले पत्रकारहरूलाई सचेत र जिम्मेवार भएर कलम चलाउन आग्रह गर्नु भएको छ ।
शनिबार राप्ती गाउँपालिका-३ मसुरीयामा सम्पन्न राप्ती प्रेस मञ्चको प्रथम साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै थारूले सञ्चार क्षेत्रको संवेदनशीलता औंल्याउँदै निष्पक्ष र जिम्मेवार पत्रकारिताको आवश्यकता रहेको बताउनुभयाे। उहाँले भन्नुभयो, “पत्रकारिता समाज परिवर्तनको मुख्य आधार हो । सत्य, निष्पक्षता, र जिम्मेवारीसहित कलम चलाउनु सबै पत्रकारहरूको कर्तव्य हो ।”
उहाँले देउखुरी उपत्यका लुम्बिनी प्रदेशको राजधानी भएसँगै यहाँका पत्रकारहरूलाई स्थापित हुने अवसर प्राप्त भएको उल्लेख गर्दै पत्रकारिता पेशामा थप सतर्कता र अनुशासन आवश्यक रहेको बताउनुभयो । “पत्रकारितामा कुनै प्रकारको पूर्वाग्रह वा दबाब हुनुहुँदैन । सत्यको पक्षमा उभिएर, समाजलाई सुसूचित गर्ने दायित्व पत्रकारहरूको हो,” उहाँले थप्नुभयाे ।
राप्ती प्रेस मञ्चको नयाँ कार्यसमिति चयन :
राप्ती प्रेस मञ्चको अधिवेशनले अर्जुन कुमार अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिमा वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ता, खुल्ला उपाध्यक्ष बलराम शाही (भिसुन), महिला उपाध्यक्ष हुमा सुनार, महासचिव ओमप्रकाश गुप्ता, सचिव देवेन्द्रराज कंडेल (श्रीधर), कोषाध्यक्ष लक्ष्मी पोख्रेल रहनु भएको छ । त्यस्तै सदस्यहरूमा मुक्तिराम पौडेल, लालमणी भुसाल, मोतीराम भट्टराई र निसा कुमारी चौधरी निर्वाचित हुनु भएको छ ।

नव निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक दामोदर भण्डारी र सदस्यहरु तुल बहादुर कवँर मगर र बिदुर एमसीले प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
पत्रकार महासंघ सदस्य र पत्रिका वितरकलाई सम्मान :
सो अवसरमा राप्ती प्रेस मञ्चले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति सदस्य ओमप्रकाश गुप्तालाई सम्मान गरेको छ ।

साथै, लामो समयदेखि पत्रपत्रिका वितरण गर्दै आएका भालुवाङ निवासी टुकबहादुर खत्रीलाई नगदसहित सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा विभिन्न दलका प्रतिनिधिहरू, व्यवसायी तथा सामाजिक अभियन्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव ओमप्रकाश गुप्ताले गर्नु भएको थियो ।












