मङ्लबार, कार्तिक १९, २०८२

राप्ती गाउँपालिकामा ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तरक्रिया

मसुरीया २० चैत । दाङको राप्ती गाउँपालिकाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘सहकारी सञ्चालनका अवसर, चुनौती र समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

कार्यक्रम सहकारी सञ्जाल राप्तीका अध्यक्ष ताराप्रसाद भुसालको अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे ।

“मर्यादित सहकारी : समुन्नत समाज” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सहकारी क्षेत्रका विभिन्न पक्षमा छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष विष्टले समाजवाद उन्मुख अर्थतन्त्रको विकास सहकारीबाट मात्रै सम्भव हुने धारणा व्यक्त गर्नुभयो । उहाँले सहकारी संस्थाहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिँदै सहकारीकर्मीहरू मन, बचन र कर्मले प्रतिबद्ध भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, लोभ प्रवृत्तिले सहकारी संस्थाहरू धरासायी हुने खतरा रहेको भन्दै सहकारीको मर्यादा कायम राख्न सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै अध्यक्ष विष्टले स्थानीय सरकार सदैव सहकारी संस्थासँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।

साे अवसरमा सहकारी दर्ता अधिकारीकाे कार्यालय राप्ती उपत्यका देउखुरीका वरिष्ठ शाखा अधिकृत बाबुराम पन्थीले सहकारी संस्था सञ्चालनका सिद्धान्त मूल्य मान्यता र सहकारी संस्थाका वर्तमान समस्या, चुनाैती र समाधानका उपाय सम्बन्धि र राप्ती गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर आचार्यले गाउँपालिकामा सहकारी संस्थाहरूकाे अवस्थाकाे बारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला सहकारी संघ दाङका सदस्य खुशल घिमिरे, सहकारीकर्मीहरू शिध्वज मल्ल, ऋषिराम खनाल, कृष्णराज पाैडेल लगायतका सहभागीहरूले सहकारी क्षेत्रका अवसर, वर्तमान चुनौती र तिनको समाधानका उपायबारे आफ्ना विचार व्यक्त गर्नु भएको थियो ।

गाउँपालिकाको नियमन क्षेत्र भित्र रहेका ३७ सहकारी संस्था मध्ये २५ सहकारी संस्था सक्रिय रुपमा सञ्चालनमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation