
भालुबाङ ३ वैशाख। लुम्बिनी प्रदेश राजधानी जग्गा एकीकरण समितिका अध्यक्ष श्यामेस चौधरीले सोमबार पदबाट राजीनामा दिनुभएको छ । राप्ती गाउँपालिका–३, मसुरीयास्थित कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमार्फत चौधरीले औपचारिक रूपमा राजीनामा घोषणा गर्नुभएको हो ।
वि.सं. २०७८ मा तत्कालीन मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वमा गठित मन्त्रिपरिषद्को निर्णयअनुसार चौधरीलाई चार वर्षे कार्यकालका लागि समितिको अध्यक्ष नियुक्त गरिएको थियो । दुई वर्षभन्दा बढी समयसम्म कार्यभार सम्हाल्दै उहाँले गढवा गाउँपालिका–१, शितगंगा नगरपालिका–८ र ९ तथा राप्ती गाउँपालिका–२ स्थित कठाहा क्षेत्रमा जग्गा एकीकरणको प्रारम्भिक कार्य अघि बढाउनु भएको थियो ।
तर हालको प्रदेश सरकारले कार्यकाल नसकिँदै नेपाली कांग्रेस निकट सुशील कुमार बस्नेत (सुनिल) लाई अध्यक्षमा नियुक्त गरेपछि विवाद उत्पन्न भएको थियो । चौधरीले उक्त निर्णयविरुद्ध उच्च अदालत तुलसीपुरमा रिट निवेदन दर्ता गर्नुभएको थियो, जसपश्चात् अदालतले उहाँलाई काम गर्न नरोकिने आदेश दिएको थियो ।
दुवै पक्ष एउटै कार्यालयबाट कार्यसम्पादन गरिरहेको अवस्थामा अन्ततः प्रदेश सरकारको आग्रहलाई सकारात्मक रूपमा स्वीकार गर्दै चौधरीले बस्नेतलाई सहज रूपमा काम गर्न दिने उद्देश्यले राजीनामा दिनुभएको बताइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै चौधरीले भन्नुभयो, “संस्था र सहकार्यलाई प्राथमिकता दिँदै मार्ग प्रशस्त गरेको हुँ । म आज पनि नमुना राजधानी निर्माणको पक्षमा छु र भविष्यमा पनि आवश्यक परेको खण्डमा सहयोग गर्न तयार छु ।”
त्यस्तै, उहाँले प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन नगर्दा राजधानी व्यवस्थापनका लागि जग्गा एकीकरण कार्यले अपेक्षित गति लिन नसकेको उल्लेख गर्नुभयो ।