काठमाडौं । लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा मतदानको लागि तोकिएको समय सकिएको छ ।
मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान भएको छ । केही मतदान केन्द्रहरुमा बिशेष कारणले समय थपिएको बाहेक मतदानको समय सकिए पनि लाइनमा बसेकाहरूले भने भोट हाल्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनमा कति प्रतिशत मत खस्यो भन्नेबारे आयोगले आज राति ७ः५० मा पत्रकार सम्मेलन गरी जानकारी गराउने छ। निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ ।
निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको थियो । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको थियो ।
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभा र प्रदेशसभाको यो दोस्रो निर्वाचन हो । यसअघि २०७४ सालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएको थियो ।