बिहिबार, जेष्ठ २, २०८२

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

राप्तीमा अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु

भालुबाङ ३ बैशाख । दाङको राप्ती गाउँपालिकामा बुधबारदेखि अध्यक्ष कप फूटबल प्रतियोगिता शुरु भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारुले गर्नुभयो ।

उद्घाटन समारोहमा बोल्दै प्रदेशसभा सदस्य थारुले सामाजिक तथा राजनीतिक परिवर्तनसँगै खेल क्षेत्रको पनि उल्लेखनीय विकास भइरहेको बताउनुभयो । उहाँले गणतन्त्र स्थापनापछि खेल क्षेत्रले थप प्रगति गरेको उल्लेख गर्दै अहिलेको अवस्थामा सरकार र स्थानीय तहले खेल क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो । “खेलाडीको महत्त्वपूर्ण भूमिका रहँदै आएको छ,” थारुले भन्नुभयाे, “भलिबल, क्रिकेट, फुटबल लगायतका खेलमा नेपालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाइसकेको छ, अझै पनि खेलाडीमा लगानी आवश्यक छ ।”

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले खेल जीवनलाई गतिशील बनाउने माध्यम भएको उल्लेख गर्दै अनुशासन, समर्पण र सामूहिकता सफलताको आधार भएको बताउनुभयो ।

गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरीले स्थानीय स्तरबाट शुरु गरिएको प्रतियोगिताले खेलाडीलाई जिल्ला, प्रदेश हुँदै राष्ट्र प्रतिनिधित्व गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्दै खेलाडीलाई निरन्तर हौसला प्रदान गरिने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले राप्ती गाउँ कमिटीका सचिव भरतमणि न्यौपाने, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष बसन्त नेपाली, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष राजकुमार आचार्य, नेकपा एकीकृत समाजवादी पार्टीका शिशिर पुन, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि डिलाराम पौडेल, सशस्त्र प्रहरी बल ज्वालामाई गण २९ नम्बर हेडक्वाटर भालुबाङका प्रहरी उपरीक्षक मनोज कुमार धिताल, इलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख प्रहरी निरीक्षक अमर बहादुर माझीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले गर्नुभएको थियो ।

प्रतियोगितामा गाउँपालिकाका आठ वडाबाट महिला र पुरुष गरी ८/८ टिम सहभागी छन्। विजेता टिमलाई नगद ४०/४० हजार र उपविजेता टिमलाई ३०/३० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता राप्ती गाउँपालिका २, लालमटिया स्थित टुडिखेल मैदान बराखुटीमा चैत ५ गतेसम्म सञ्चालन हुने वडा नम्बर ३ का अध्यक्ष तथा खेल समितिका संयाेजक उमेश अधिकारीले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation