
देउखुरी ६ बैशाख । कक्षा ८ को परिक्षामा पब्लिक एजुकेशन एकडेमी लालमटियाका सुवास कार्की दाङको राप्ती गाउँपालिका प्रथम हुनु भएको छ । केही दिन अघि प्रकाशित कक्षा ८ को नतिजामा अनुसार राप्ती गाउँपालिका–४, मौरीघाट निवासि कार्कीले ४ जिपिए अंक प्राप्त गरी राप्ती गाउँपालिका प्रथम हुनु भएको हो ।
त्यस्तै पब्लिक एजुकेशन कै सृष्टी भुसाल राप्ती गाउँपालिका दोस्रो हुनु भएको छ । भुसालले ३ दशमलब ९७ जिपिए अंक ल्याएर पालिका दोस्रो हुनु भएको विद्यालयले जनाएको छ । भुसाल राप्ती गाउँपालिका—२, लालमटिया निवासी हुनुहुन्छ । पालिका प्रथम हुनु भएका कार्की पब्लिक एजुकेशन एकेडेमीका प्रिन्सीपल चम्पकराज कार्कीको जेष्ठ सुपुत्र हुनुहुन्छ ।
गत चैत १४ गते देखि २२ गते सम्म सञ्चालन भएको कक्षा ८ को परिक्षामा पब्लिक एजुकेशन एकेडेमीबाट ७१ जना विद्यार्थी सहभागी भएको ६३ जना पास हुन सफल भएको एकेडेमी प्रशासनले जनाएको छ । जसमा १६ जना ए प्लस, २१ ए र २६ जना बी प्लस अंक प्राप्त गरेको एकेडेमीका प्रिन्सीपल चम्पकराज कार्कीले जानकारी दिनु भएको छ ।
यस्तै उक्त परिक्षामा पब्लिक एजुकेशनका विद्यार्थीहरुले विभन्न बिषयमा ए प्लस अंक प्राप्त गर्नु भएको छ । जस अनुसार नेपाली बिषयमा ९ जना, अग्रेजीमा ३ जना, गणितमा १० जनाल, विज्ञानमा १ जना, सामाजिकमा ४ जना, स्वास्थ्यमा ६ जना र हाम्रो राप्ती गाउँपालिका बिषयमा ८ जनाले ए प्लस अंक प्राप्त गरेको एकेडेमीका प्रिन्सीपल कार्कीले जानकारी दिनुभयो ।
यस्तै पब्लिक एजुकेशनले गत बर्ष एसईई परिक्षामा शत प्रतिशत विद्यार्थी उत्तिर्ण भएर जिल्ला उत्कृष्ट भएको थियो । जस अनुसार १७ जना ए प्लस, १७ ए र १२ जना बि प्लस ल्याएर अंक प्राप्त गरी जिल्लाको उत्कृष्ट भएको थियो ।
यसैबीच कक्षा ८ को परिक्षामा उत्कृष्ट अंक प्राप्त गरी पालिका प्रथम हुने सुवास कार्की र पालिका दोस्रो हुने सृष्टी भुसाललाई विद्यालयले सम्मान समेत गरेको छ । उत्कृष्ट हुने कार्की र भुसाललाई एकेडेमीका प्रिँन्सीपल चम्पकराज कार्की सहित देउखुरी शिक्षा सहकारी संस्थाका व्यवस्थापक शोभाकर भुसाल, एकेडेमीका लेखा प्रमुख माधव शर्मा सहितका शिक्षक शिक्षिकाहरुले टिका र खाँदा लगाएर सम्मान गर्नु भएको थियो ।
सम्मान ग्रहणपछि बोल्दै पालिका प्रथम हुने कार्की र पालिका दोस्रो हुने भुसालले अनुशासित भएर समय तालिका बनाएर पढ्ने बानी बसाले उत्कृष्ट अंक प्राप्त गर्न सकिने बताउनुभयो । उहाँहरुले परिक्षा आउने बेला मात्र नभई पढाई शुरु भएदेखि स्कूल मात्र नभई घरमा समेत समय तालिका बनाएर नियमित पढ्न बानी बसाल्नु पर्ने बताउनुभयो ।
यता एकेडेमीका प्रिन्सीपल कार्कीले विद्यार्थीहरुले परिक्षाको बेला मात्र नभई पढाई शुरु भए देखि नियमित स्कुल आउने र घरमा पनि समय तालिका बनाएर पढ्न सके मात्र उत्कृष्ट अंक ल्याउन सकिने बताउनुभयो । उहाँले विद्यार्थीहरुले उत्कृष्ट अंक ल्याउन विद्यालयको पढाईले मात्र नपुग्ने भन्दै घरमा समेत नियमित पढ्ने बानी बसाल्नु पर्ने बताउनुभयो ।