
मसुरिया । दाङको राप्ती गाउँपालिका स्थित इलाका प्रहरी कार्यालय भालुबाङ र गढवा गाउँपालिका स्थित ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुखहरूको हालै सरुवा भएको छ । प्रहरी निरीक्षक अमरबहादुर माझी र प्रहरी निरीक्षक कालिका कार्कीको नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, काठमाडौँमा सरुवा भएपछि राप्ती गाउँपालिकाले बुधबार ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी उहाँहरूलाई विदाई गरेको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले संयुक्त रूपमा प्रशंसापत्र र मायाकाे चिनाे प्रदान गर्दै दुवै प्रहरी अधिकृतलाई विदाई गर्नुभएकाे हाे ।
सो अवसरमा अध्यक्ष विष्टले राप्ती गाउँपालिकाको समग्र शान्ति सुरक्षालाई मजबुत बनाउन प्रहरी निरीक्षक माझी र कार्कीको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो। उहाँले हरेक जटिल परिस्थितिमा पनि दुवैले अत्यन्त जिम्मेवारीपूर्वक काम गर्दै स्थानीय बासिन्दालाई सुरक्षित र सहज वातावरण प्रदान गर्न सफल भएको बताउनुभयो । अध्यक्ष विष्टले उहाँहरूको इमान्दारिता, कर्तव्यनिष्ठा र समुदायप्रतिको समर्पणलाई उच्च सम्मान रहने उल्लेख गर्नुभयो। साथै, गाउँपालिकाकाे शान्ति, सद्भाव र सुशासनमा योगदान पुर्याउने सम्पूर्ण सुरक्षाकर्मीहरूलाई सदैव समर्थन र साथ रहने बताउनुभयो ।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले प्रहरी निरीक्षक माझी र कार्कीले समुदायमैत्री अभ्यास गर्दै नागरिकहरूको विश्वास जित्न सफल भएको बताउनुभयो । उहाँले सुरक्षालाई बलियो बनाउने कार्यमा गाउँपालिका र सुरक्षाकर्मीबीचको आपसी सहकार्यले सकारात्मक परिणाम देखाएको उल्लेख गर्नुभयो। पाठकले राप्तीलाई सुरक्षित, समृद्ध र नागरिकमैत्री पालिका बनाउन उहाँहरूको योगदान कहिल्यै भुल्न नसकिने बताउँदै आगामी दिनमा पनि यस्तै सहकार्य र समर्पणको अपेक्षा राख्नुभयो ।
कार्यक्रममा प्रहरी निरीक्षक अमरबहादुर माझीले राप्ती क्षेत्रका जनताको साथ र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यस क्षेत्रकाे सेवा यात्राले आफूलाई अझ जिम्मेवार प्रहरी बन्न थप प्रेरणा दिएको उल्लेख गर्नुभयो ।
त्यसैगरी, प्रहरी निरीक्षक कालिका कार्कीले पनि पालिका प्रशासन, जनप्रतिनिधि तथा स्थानीय समुदायप्रति कृतज्ञता प्रकट गर्दै आगामी जिम्मेवारीमा पनि समुदायको भरोसा जित्न निरन्तर प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रहरी निरीक्षक माझी र कार्कीले २०८१ साल जेठ ३ गते क्रमशः इलाका प्रहरी कार्यालय भालुबाङ र इलाका प्रहरी कार्यालय गढवाकाे प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएको थियो । करिब ११ महिनाको कार्यकालमा उहाँहरूले स्थानीय समुदाय, संघसंस्था र प्रशासनसँगकाे सहकार्यलाई प्राथमिकता दिँदै कार्यसम्पादन गर्नुभएको थियो ।
यसैबीच, प्रहरी निरीक्षक पुष्करसिंह ऐरी इलाका प्रहरी कार्यालय भालुबाङ र प्रहरी निरीक्षक डबलबहादुर बम गढवाको नयाँ प्रमुखका रूपमा कार्यभार सम्हाल्नुभएको छ । गाउँपालिकाले नयाँ नेतृत्वसँग पनि शान्ति सुरक्षा सुदृढीकरणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ ।