मसुरिया २ जेठ । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले आगामी आर्थिक वर्षमा बेरुजु रकम शून्यमा झार्ने लक्ष्य रहेको बताउनु भएको छ ।
शुक्रबार सम्पन्न चालु आर्थिक वर्षका काम, योजनाहरू र खर्चको प्रगतिको समिक्षा गर्न आयोजित कार्यक्रममा अध्यक्ष विष्टले सबै शाखा प्रमुख र कर्मचारीहरूलाई बेरुजु न्यूनीकरणमा अझै सजग भएर लाग्न निर्देशन दिनुभयाे ।
“यस वर्ष हामीले अघिल्लो वर्षको तुलनामा बेरुजु घटाउन सफल भएका छौं। अबको वर्ष शून्य बेरुजु बनाउनु पर्छ,” अध्यक्ष विष्टले भन्नुभयाे । उहाँले बेरुजु घटाउनमा सबै कर्मचारीहरूको योगदान महत्वपूर्ण रहेको भन्दै धन्यवाद पनि ज्ञापन गर्नुभयो ।
कर्मचारीहरूलाई थप उत्साह दिन अध्यक्ष विष्टले सबै शाखा प्रमुखहरूलाई मोबाइल रिचार्ज कार्ड समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा उपाध्यक्ष कमलापती चौधरीले बेरुजु न्यूनीकरण मात्र नभई सेवा प्रवाहमा समेत थप पारदर्शिता र उत्तरदायित्व आवश्यक रहेको बताउनुभयो । उहाँले जनताको विश्वास जित्न कर्मचारीहरूको भूमिकामा निष्ठा र सक्रियता हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले आगामी वर्ष बेरुजु रकम शून्यमा झार्न सबै शाखा प्रमुख तथा कर्मचारीहरू निरन्तर समन्वय र समयमै योजना कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो ।
गाउँपालिकामा चालु आर्थिक वर्षमा जम्मा ०.१४ प्रतिशत मात्रै बेरुजु देखिएको छ, जुन विगतको तुलनामा उल्लेखनीय प्रगति मानिएको छ ।











