भालुबाङ १३ जेठ । दाङको राप्ती गाउँपालिकाले फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्य सुरक्षाका लागि
साेमबारदेखि एक हप्ते ‘सरसफाइ सचेतना कार्यक्रम’ सुरु गरेको छ ।
गाउँपालिकाले आशाका किरण संस्थासँगकाे सहकार्य तथा प्रहरी , टोल विकास संस्था र सरोकारवाला नागरिकहरूको समन्वयमा साे कार्यक्रम सुरु गरेको हो ।
कार्यक्रमको थालनी भालुवाङ बजार क्षेत्रबाट गरिएको छ । सरसफाइ तथा फोहोर व्यवस्थापनसम्बन्धी जनचेतनामूलक सन्देश प्रवाह गर्दै स्थानीय व्यापारी, यात्रु तथा सवारीसाधन सञ्चालकहरूलाई सडकमा फोहोर नफाल्न, डस्टबिनको प्रयोग गर्न तथा सरसफाइमा विशेष ध्यान दिन आग्रह गरिएको छ । साथै, सार्वजनिक सवारी साधनहरूमा अनिवार्य रूपमा डस्टबिन राख्न सुझाव दिइएको छ ।
कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्र पर्ने प्रमुख बजार क्षेत्रका होटल, पसल, बस्ती तथा सडक किनारमा उत्पादन हुने फोहोर व्यवस्थित गर्न व्यापक जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएका छन् । शान्तिपुरदेखि सिङ्गे खोलासम्म फैलिएको पूर्व–पश्चिम राजमार्ग तथा गाउँपालिकाका मुख्य सडक क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
गाउँपालिकाले सरसफाइलाई उच्च प्राथमिकतामा राख्दै समुदाय तथा बस्ती स्तरमै फोहोर वर्गीकरण, व्यवस्थापन र सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । सरसफाइ शाखा प्रमुख गीता चौधरीका अनुसार, पोस्टर, पम्प्लेट वितरण, सडक नाटक, रेडियो कार्यक्रम र प्रत्यक्ष संवादमार्फत नागरिकमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गरिँदैछ ।
फोहोर व्यवस्थापनलाई थप व्यवस्थित गर्न गाउँपालिकाले ‘सरसफाइ केन्द्र’ समेत स्थापना गरेको छ। सो केन्द्रमा सङ्कलित फोहोरलाई पुनः प्रयोग गरी इन्टरलक र टायल उत्पादन सुरु गरिएको छ । यसले फोहोरलाई उपयोगी सामग्रीमा रूपान्तरण गर्दै वातावरण संरक्षणसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सहयोग गरिरहेको छ ।
सरसफाइ सुपरिवेक्षक सुरेश बैमा मगरका अनुसार, अभियानमा प्रहरी प्रशासन, विद्यालय, स्थानीय युवा क्लब, टोल विकास संस्था, महिला समूहलगायत सरोकारवाला निकायहरूसँग सहकार्य गरिएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाश विष्टले सरसफाइ सचेतना कार्यक्रम दीर्घकालीन सोचअनुसार अघि बढाइएको बताउनुभयो । फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण र नागरिक स्वास्थ्यलाई एकसाथ सम्बोधन गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गर्दै, उहाँले समुदायको सक्रिय सहभागितामार्फत वातावरणमैत्री व्यवहारको विकास अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “गाउँपालिकाले फोहोर व्यवस्थापनमा नयाँ दृष्टिकोण अवलम्बन गर्दै स्थायी समाधानतर्फ पाइला चालेको छ । नागरिक तहबाटै स्वच्छता र जिम्मेवार व्यवहारको विकासले मात्रै सफा र समुन्नत राप्तीको परिकल्पना साकार हुन सक्छ ।”
गाउँपालिकाले सचेतना कार्यक्रमपछि पनि सार्वजनिक स्थलहरूमा जथाभावी फोहोर फाल्नेहरूमाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिने स्पष्ट पारेको छ । यसले दीर्घकालीन समाधानतर्फ मार्गनिर्देशन गर्दै जिम्मेवार नागरिक संस्कारको विकासमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।











