मसुरिया १४ जेठ । दाङको राप्ती गाउँपालिकाले १७ औं गणतन्त्र दिवसको अवसरमा बुधबार विविध कार्यक्रम सम्पन्न गरेको छ ।
गणतन्त्र दिवसको अवसरमा गाउँपालिका कार्यालय परिसरमा सरसफाइ, फलफूलका बिरुवा रोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरू, जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विष्टले गणतन्त्र दिवसलाई राष्ट्रिय एकता, समानता र समृद्धिको आधारका रूपमा लिनु पर्ने बताउनुभयो। उहाँले समाज र वातावरणप्रति उत्तरदायी हुने खालका कार्यक्रमहरूले गणतन्त्रको मर्मलाई अझ मजबुत बनाउने उल्लेख गर्नुभयो ।
गाउँपालिकाले विगतका वर्षहरूदेखि नै गणतन्त्र दिवसको अवसरमा विविध कार्यक्रमहरू गर्दै आइरहेको छ ।











