मङ्लबार, कार्तिक १९, २०८२

राप्ती ३ मा एक्सरे सहितको क्षयरोग स्क्रिनिङ शिविर सम्पन्न : १ सय ३१ जनाको स्वास्थ्य परीक्षण

भालुबाङ १४ जेठ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ अन्तर्गत मसुरिया सामुदायिक स्वास्थ्य इकाईमा बुधबार एआई डिजिटल एक्सरे सहितको क्षयरोग स्क्रिनिङ शिविर सम्पन्न भएको छ । शिविरमा १ सय ३१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

परीक्षण गरिएकामध्ये २ जनामा क्षयरोग पुष्टि भएको छ भने ४३ जनामा क्षयरोगको उच्च सम्भावना देखिएकाले थप जिन एक्सपर्ट (खकार) परीक्षणका लागि लमही अस्पतालमा रिफर गरिएको स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिनुभयो ।

शिविरमा बर्दिया अस्पतालका डा. राजेन्द्र दशौला, भीम अस्पताल भैरहवाका एक्सरे टेक्निसियन राजेश राय, क्षयरोग मुक्त अभियान नेपालका राप्ती गाउँपालिका संयोजक प्रतिमा विष्ट, मसुरिया स्वास्थ्य इकाईकी प्रमुख सिनियर अहेब कमला न्यौपाने, राप्ती आधारभुत अस्पताल कालापानीका रेडियोग्राफर प्रतिमा चौधरी, अनमि सुनिता केसी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटियाका सभापति उत्तम कुमार अधिकारी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूले सेवा प्रदान गर्नु भएको थियो ।

डा. दशौलाका अनुसार शिविरमा परीक्षण गराउन आएका धेरै व्यक्तिहरूमा फोक्सो सम्बन्धी समस्या देखिएको थियो । बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन भएको शिविरमा एआई प्रविधियुक्त डिजिटल एक्सरे मेसिनको प्रयोग गरिएको थियो ।

राप्ती गाउँपालिकाको आयोजना र लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालय दाङको प्राविधिक सहयोगमा “क्षयरोग मुक्त नेपाल” अभियान अन्तर्गत उक्त शिविर सञ्चालन गरिएको क्षयरोग मुक्त अभियान नेपालका राप्ती गाउँपालिका संयोजक प्रतिमा विष्टले बताउनुभयो ।

संयोजक विष्टका अनुसार, स्वास्थ्य सेवाको पहुँचबाट बाहिर रहेका, क्षयरोगको उच्च जोखिममा रहेका तथा संभावित बिरामीहरूको पहिचान, परीक्षण र प्रारम्भिक उपचारका लागि शिविर सञ्चालन गरिएको हो ।

शिविर जेठ १५ गते बिहीबार वडा नम्बर ८ काे कार्यालय पिपरी र जेठ १६ गते वडा नम्बर ६ को पत्थरगढवा सामुदायिक स्वास्थ्य इकाईमा सञ्चालन हुने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation