मसुरिया २२ जेठ । दाङको राप्ती गाउँपालिकामा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटनादर्ता प्रणाली सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।
गाउँपालिकाको आयोजना एवम् राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सिंहदरबार काठमाडौँको प्राविधिक सहयोगमा बिहीबारदेखि उक्त कार्यक्रम सुरु भएको हो ।
गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षतामा उद्घाटन गरिएको उक्त कार्यक्रममा बोल्दै उपाध्यक्ष चौधरीले व्यक्तिगत घटना दर्ताका क्रममा देखिने व्यावहारिक समस्याको समाधान, जनप्रतिनिधि तथा कर्मचारीबीचको समझदारीमा एकरूपता ल्याउने र सेवाग्राहीमैत्री कार्यपद्धति विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
उहाँले सबै वडामा नागरिकले सहज र प्रभावकारी सेवा पाउन सकून् भन्ने लक्ष्यले अभ्यासमुखी यस्ता कार्यक्रमहरू आवश्यक रहेको धारणा राख्नुभयो । “यस्ता कार्यक्रम केही वर्षअघि नै गर्नुपर्ने थियो, तर विविध कारणले ढिलाइ भयो । ढिलै भए पनि कार्यक्रम सुरु भएको छ । यसले सेवा प्रवाह सहज र प्रभावकारी बनाउने छ,” उपाध्यक्ष चौधरीले भन्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले स्थानीय सरकारको सेवा प्रवाहलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन जनप्रतिनिधि तथा कर्मचारीबीच सहकार्य र समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले अभिमुखीकरणबाट कानुनी तथा प्राविधिक पक्षमा सहभागीहरूले आवश्यक ज्ञान हासिल गरी सेवा प्रवाहमा गुणस्तर वृद्धि हुने अपेक्षा व्यक्त गर्नुभयो ।
दुई दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रशिक्षण राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकृत राजीव राईले गर्नुभएको छ। उहाँले जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ, नाम, थर र लिङ्ग परिवर्तनसम्बन्धी कानुनी व्यवस्था, डेटा प्रशोधन प्रक्रिया, घटनादर्ता प्रणालीको अपरेटिङ प्रोटोकल, सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली, गुनासो व्यवस्थापन तथा व्यवहारमा देखिने समस्याबारे प्रशिक्षण दिइरहनुभएको छ ।
कार्यक्रमको समन्वय पञ्जीकरण शाखा प्रमुख नारायण राउतले गर्नुभएको हो । उहाँले सहभागीहरूलाई अभ्याससहितको व्यवहारिक ज्ञान प्रदान गरिने जानकारी दिनुभयो ।
कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, सदस्य, वडा सचिवलगायतहरूको सहभागिता रहेको छ ।











