मङ्लबार, कार्तिक १९, २०८२

गढवामा असार ३ देखि १२ गतेसम्म व्यापारिक मेला सञ्चालन हुने

गढवा २४ जेठ । गढवा उद्योग वाणिज्य संघले असार ३ गतेदेखि १२ गतेसम्म गढवाको खेल मैदानमा प्रथम गढवा कृषि, पर्यटन, सांस्कृतिक तथा व्यापार मेला २०८२ आयोजना गर्ने भएको छ । संघले शनिबार पत्रकार सम्मेलन गरी मेलासम्बन्धी जानकारी दिएको हो ।

“स्थानीय उत्पादन, समृद्ध पालिका उद्योग, पर्यटन र व्यवसायी: समृद्धिको मेरुदण्ड” भन्ने मूल नाराका साथ आयोजना हुने मेलामा झन्डै १०० भन्दा बढी स्टलहरू रहने संघका अध्यक्ष ओमप्रकाश बसेलले जानकारी दिए । मेलामा गढवा र राजपुर क्षेत्रका कृषि उत्पादन, पशुपालन, सिपमूलक सामग्री, माटोको भाँडा, गड्यौला मल लगायतका सामग्रीहरूको प्रदर्शनी तथा बिक्री गरिनेछ ।

मेलामा रोजगारी सिर्जना, पर्यटकीय प्रवर्द्धन र भारतसम्म बजार विस्तार गर्ने उद्देश्य राखिएको छ । कोइलाबास नाकाबाट भारत भित्रिने पर्यटकलाई लक्षित गरी प्रचार सामग्री वितरण गरिने र भारतीय व्यापार मण्डलसँग सहकार्य गरिने संघले जनाएको छ ।

मेलाको सुरक्षाका लागि इलाका प्रहरी, नगर प्रहरी, युवा स्वयंसेवक तथा निजी सुरक्षा गार्ड परिचालन गरिनेछ । साथै, सीसी क्यामेरा, प्राथमिक स्वास्थ्य सेवा केन्द्र र एम्बुलेन्सको व्यवस्था पनि गरिने भएको छ ।

मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, झाँकी प्रतियोगिता, नवप्रतिभाका लागि गढवा आइडलजस्ता कार्यक्रमहरू समावेश गरिने छन् । पत्रकार, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने स्थानीय उत्पादन प्रवर्द्धनका लागि निःशुल्क स्टल समेत उपलब्ध गराइने आयोजक गढवा उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश बसेलले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

मेलाबाट प्राप्त मुनाफाबाट व्यवसायिक सुरक्षा कोष स्थापना, बजार क्षेत्रमा सीसी क्यामेरा, सडक बत्ती, डस्टबिन वितरण र पर्यटकीय स्थल प्रवर्द्धनका लागि होर्डिङ बोर्ड राखिने संघले जनाएको छ ।

संघले मेलालाई व्यवस्थित र भव्य बनाउने लक्ष्यसहित विभिन्न उपसमिति गठन गरिसकेको छ भने प्रायोजक संकलन, व्यवस्थापन र समन्वय कार्य तीव्र पारिएको शनिबार गढवा उद्योग वाणिज्य संघले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation