सोमवार, कार्तिक १८, २०८२

राप्तीमा सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मसुरिया २७ जेठ । दाङको राप्ती गाउँपालिकामा योगदानमा आधारित सामाजिक सुरक्षा कोषसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ । राप्ती गाउँपालिकाको आयोजनामा र सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय बुटवलको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले जीवनमा आउने आर्थिक जोखिमबाट सुरक्षित रहन सामाजिक सुरक्षा कोष एक महत्वपूर्ण माध्यम भएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षदेखि औपचारिक तथा अनौपचारिक क्षेत्रका कर्मचारी र श्रमिकलाई कोषमा आबद्ध गराउने लक्ष्य रहेको स्पष्ट पार्नुभयो ।

सामाजिक सुरक्षा कोष सम्पर्क कार्यालय बुटवलका प्रमुख केदार पौडेलले कोषको नीतिगत व्यवस्था, दर्ता प्रक्रिया, योगदानकर्ताका अधिकार र कर्तव्यहरू, तथा कोषमार्फत प्राप्त हुने विभिन्न सुविधाहरूको विस्तृत जानकारी दिनुभयो ।

उहाँका अनुसार औपचारिक क्षेत्रका करार तथा ज्यालादारी श्रमिकहरूको तलबको कम्तीमा ६० प्रतिशतलाई आधारभूत तलब मानी त्यसको २० प्रतिशत रोजगारदाताबाट र ११ प्रतिशत श्रमिक आफैँले योगदान गर्ने व्यवस्था रहेको छ ।

अनौपचारिक क्षेत्रका श्रमिकहरूले न्यूनतम आधारभूत पारिश्रमिकको ११ प्रतिशत योगदान गर्नुपर्नेछ भने ९.३७ प्रतिशत सरकारले व्यहोर्ने व्यवस्था गरिएको छ ।

यसैगरी स्वरोजगारमा रहेका व्यक्तिहरूले कम्तीमा न्यूनतम आधारभूत पारिश्रमिकदेखि अधिकतम त्यसको तीन गुणासम्मको आधारमा ३१ प्रतिशत योगदान गर्नुपर्नेछ ।

कोषमार्फत श्रमिकहरूलाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, र वृद्धावस्था सुरक्षा योजना उपलब्ध गराइने जानकारी दिइएको थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले सामाजिक सुरक्षा कोषले नागरिक सुरक्षाको दायरा विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष कमलापती चौधरी, कार्यपालिका सदस्यहरू, कर्मचारी, विभिन्न व्यवसायी तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख सहभागिता रहेको थियो ।

सहभागीहरूले कोषप्रति चासो व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि विभिन्न सुझावहरू समेत प्रस्तुत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation