मसुरिया ६ असार । दाङको राप्ती गाउँपालिकाले नीति तथा कार्यक्रम गाउँसभामा प्रस्तुत गरेको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको विशेष उपस्थितिमा गाउँपालिकाको ७औं गाउँसभामा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।
गाउँसभामा पालिकाले हालसम्म हासिल गरेका उपलब्धिहरू जानकारी गराउँदै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विष्टले समृद्ध र विकसित राप्ती निर्माण गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताउनुभयो । उहाँले सीमित स्रोत र साधनका बीच जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकता निर्धारण गरी योजनाबद्ध रूपमा कार्यान्वयन गरिने स्पष्ट पार्नुभयो ।
“नागरिकका असिमित चाहना र आवश्यकता तत्कालै पूरा गर्न सम्भव नहोला,” अध्यक्ष विष्टले भन्नुभयो, “तर हामी जनताको हितलाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, कृषि, उद्यम, पर्यटन र पूर्वाधारजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं र आगामी दिनमा अझ प्रभावकारी रूपमा अगाडि बढ्नेछौं ।”
सभाका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरले संघ, प्रदेश र स्थानीय तहबीचको अधिकार नेपालको संविधानले स्पष्ट रूपमा व्यवस्था गरेको बताउनुभयो । उहाँले नेपालमा दुई तहको संसदीय व्यवस्था रहेको उल्लेख गर्दै संघीय र प्रदेश सरकारहरूमा पटक–पटक सरकार परिवर्तन भए पनि स्थानीय सरकार स्थायी भएकाले स्थायित्व, निरन्तरता र जनउत्तरदायित्वमा यसको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।
गाउँसभाको बैठक असार ९ गते बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
“स्थानीय सरकार भनेको जनताको ढोका अगाडिको सरकार हो,” सभामुख घर्तीले भन्नुभयो, “यसले सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले पारदर्शिता, जवाफदेहिता र जनसहभागिता सुनिश्चित गर्नु यसको पहिलो जिम्मेवारी हो ।”
सभामुख घर्तीले नीति तथा कार्यक्रममार्फत जनताको आवश्यकता, इच्छा र अपेक्षा सम्बोधन गर्न स्थानीय सरकार प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । साथै, स्थानीय सरकारलाई संघ र प्रदेशभन्दा बढी विश्वासिलो र जनमुखी बनाउने अवसरको रूपमा लिन आह्वान गर्नुभयो ।











