सोमवार, कार्तिक १८, २०८२

राप्ती गाउँपालिकाद्वारा दुर्घटनामा परेका मजदुरलाई बीमा रकम भुक्तानी

मसुरिया ११ असार । दाङको राप्ती गाउँपालिकाले काम गर्ने क्रममा घाइते भएका एक मजदुरलाई मजदुर दुर्घटना बीमा योजनाअन्तर्गत उपचार खर्च वापतको रकम हस्तान्तरण गरेको छ ।

पालिकाभित्रका मजदुरहरूको सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले गत बैशाख महिनादेखि लागू गरिएको बीमा योजनाबाट पहिलोपटक प्रत्यक्ष लाभ लिने श्रमिक वडा नम्बर ३ मसुरियाका रामचन्द्र चौधरी बन्नु भएको छ ।

गत जेठ २ गते काम गर्ने क्रममा अचानक दुर्घटनामा परेका चौधरीको खुट्टामा गम्भीर चोट लागेको थियो । उहाँको उपचारका क्रममा खर्च भएको ४८ हजार ९ सय ८७ रुपैयाँ बीमा रकम गाउँपालिकामार्फत भुक्तानी गरिएको हो । गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार, दुर्घटनापछि चौधरीलाई समयमै उपचार मिलाउन बीमा योजनाले महत्वपूर्ण भूमिका खेलेको छ । उहाँले भन्नुभयो, “काम गर्ने क्रममा घाइते हुनुभएका चौधरीलाई हामीले बीमामार्फत उपचार खर्च उपलब्ध गराएका छौँ । श्रमिक बीमा कार्यक्रममार्फत मजदुरलाई संकटको घडीमा साथ दिने हाम्रो प्रयास हो ।”

राप्ती गाउँपालिकाका अध्यक्ष विष्टले आफूले प्राप्त गर्ने मासिक सेवा सुविधाकाे रकम र वरिष्ठ हाडजोर्नी, नशा तथा बाथरोग विशेषज्ञ डा. राजकृष्ण श्रेष्ठको संयुक्त व्यक्तिगत लगानीमा गाउँपालिकाभित्र ८ सय ७८ जना मजदुरहरुकाे निःशुल्क रूपमा एक लाख रुपैयाँसम्मको दुर्घटना बीमा गरिएको थियो । यस योजनाअन्तर्गत कुनै पनि मजदुर दुर्घटनामा परेमा उपचार खर्चको भार बीमा कम्पनीले व्यहोर्ने व्यवस्था गरिएको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँगको सहकार्यमा लागू गरिएको उक्त योजनाले मजदुरहरूलाई थप सुरक्षित बनाएको अध्यक्ष विष्टको भनाइ छ । बीमाको प्रक्रिया सरल र छरितो बनाइएको जनाइएको छ । बीमा पोलिसी अन्तर्गत मजदुरले सक्कली उपचार खर्चका बिल कागजातसहित बिमा कम्पनीमा पठाउनु पर्ने छ । त्यहाँबाट रकम स्वीकृत भएपछि सोही अनुरूप लाभ भुक्तानी हुने व्यवस्था छ ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सका लुम्बिनी प्रदेश प्रमुख विश्वदीप नेपालका अनुसार, पालिकाको पहलमा लागू गरिएको यो कार्यक्रम मजदुर सुरक्षाका दृष्टिले प्रभावकारी अभ्यास बनेको छ । उहाँले भन्नुभयो, “बीमा योजनाको प्रभाव तत्काल देखिन थालेको छ। पालिकाको नेतृत्वले देखाएको संवेदनशीलता अन्य स्थानीय तहले पनि अनुकरण गर्न सक्ने खालको छ ।”

दुर्घटनाबाट घाइते भएका मजदुर रामचन्द्र चौधरीले आफूलाई प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै यसले आफ्नो उपचार सहज बनेको बताउनुभयो । उहाँले भन्नुभयो, “खुट्टामा चोट लाग्दा निकै गाह्रो भयो। सुरुमा त खर्च कसरी व्यहोर्ने होला भन्ने डर लाग्यो। तर पालिकाबाट यति ठूलो सहयोग पाइएला भन्ने सोचेकै थिइनँ । बीमाबाट उपचार खर्च पाउँदा साह्रै राहत महसुस भएको छ ।”

राप्ती गाउँपालिकाले आगामी दिनमा थप मजदुरलाई बीमाको पहुँचमा ल्याउने, बीमाको सीमा वृद्धि गर्ने र बीमाको प्रक्रिया अझ सहज बनाउने लक्ष्य राखेको जनाएको छ । स्थानीय तहले मजदुरहरु प्रति देखाएको यस्तो जिम्मेवारीपूर्ण व्यवहारले सामाजिक सुरक्षाको अभ्यासलाई व्यवहारमा रुपान्तरण गर्न सकिने विश्वास गरिएको छ । राप्ती गाउँपालिकाको यो प्रयासले मजदुरहरुमा विश्वास, सुरक्षा र सम्मानको भावना बढाएको छ भने अन्य पालिकाहरूलाई पनि सामाजिक उत्तरदायित्वप्रति गम्भीर हुन प्रेरणा दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation