प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसको विजयी सुरुवात भएको छ । हिमालपारिको पर्यटकीय जिल्ला मुस्ताङबाट कांग्रेसले खाता खोलेको हो ।
मुस्ताङमा कांग्रेसका २९ वर्षीय योगेश गौचन विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका प्रेमप्रसाद तुलाचनलाई हराउँदै गौचन विजयी भएका हुन् ।
मुस्ताङमा सात हजार २३० मत खसेको थियो। मुस्ताङको थासाङ गाउँपालिका कालोपानीका गौचन कांग्रेस मुस्ताङ सभापति एवं पूर्ववाणिज्य तथा आपूर्तिमन्त्री रोमी गौचन थकालीका छोरा हुन् ।
उनले एलाइन्स पुनमर सिटी बैंलोर भारतबाट बिजनेस म्यानेजमेन्ट विषयमा स्नातकसम्म अध्ययन गरेका छन् । गौचन राजनीतिसँगै कृषि, पर्यटनतर्फ होटेल तथा टुर्स एन्ड ट्राभल्समा जोडिएका छन् । उनको मुस्ताङ लेतेमा कालापानी गेष्ट हाउस सञ्चालनमा छ । यस्तै, पोखरामा त्रिथुङ्गा ट्राभल्स एन्ड टुर्स प्रालि र मुस्ताङमा अर्गानिक फार्म किवी खेती गरिरहेका छन् ।
सानै उमेरमा कांग्रेसको राजनीतिमा सक्रिय गौचनले जिल्लामा नेविसंघको राजनीति सुरु गरेका थिए । कांग्रेस महासमिति सदस्य समेत रहेका गौचन गण्डकी प्रदेश कार्यसमितिमा समेत छन् ।
उनका बुबा रोमी गौचन २०७० मा मुस्ताङबाट संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएपछि प्रचण्डनेतृत्वको सरकारमा वाणिज्यमन्त्री समेत भएका थिए ।