सोमवार, कार्तिक १८, २०८२

चैतन्य पाठशालामा तीन दिने कथा लेखन कार्यशाला सम्पन्न

भालुवाङ २१ असार । चैतन्य पाठशाला राप्ती उपत्यका देउखुरीको आयोजनामा आयोजित तीन दिने कथा लेखन कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।

कथा लेखन सिपले विद्यार्थीमा रचनात्मक अभिव्यक्ति तथा साहित्यप्रतिको रुचि अभिवृद्धि गर्ने विश्वास सहभागीहरूले व्यक्त गरेका छन् । कार्यशालाको समापन समारोह चैतन्य पाठशालाका प्रबन्ध निर्देशक डा। जिवराज आचार्यको अध्यक्षता तथा राप्ती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

प्रमुख अतिथि विकले विद्यार्थीको बौद्धिक र रचनात्मक विकासका लागि किताबसँगै अतिरिक्त क्रियाकलाप पनि आवश्यक रहेको बताए । कथा लेखन जस्ता क्रियाकलापले विद्यार्थीको सीप तथा सिर्जनात्मक सोचमा नयाँ आयाम थप्दछ, उनले भने ।

कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सुषमा रेग्मी, प्रशिक्षक विजयराज आचार्य, नागरिक समाज दाङका संयोक निमबहादुर थापा, पत्रकार केपी घिमिरे र शिक्षक बीपी खनालले मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने धारणा राखे ।

कार्यक्रममा कक्षा ८, ९ र १० मा अध्ययनरत ५० जना विद्यार्थी सहभागी थिए । कार्यशालाका क्रममा तयार पारिएका कथाहरू विद्यार्थीद्वारा प्रस्तुत गरिएको थियो ।

कथा वाचनमा कक्षा १० की प्रिन्सेस सिंह ठकुरी, सदिक्षा सिंह ठकुरी, कामना कुवर, कक्षा ९ की प्रकृति गिरी, कक्षा ८ की रोजिका चौधरी, अंशिका चौधरी, प्रेरणा आचार्य, अनुष्का आचार्य लगायत ८ जना विद्यार्थी सहभागी थिए ।

प्रशिक्षक विजयराज आचार्यले विद्यार्थीले लेखेको कथा संकलन गरी विद्यालयकी प्रधानाध्यापक रेग्मीलाई हस्तान्तरण गरे ।

कार्यक्रमको सञ्चालन शिक्षक डम्बर डाँगीले गरेका थिए भने स्वागत मन्तव्य कक्षा ८ की छात्रा कृष्टी चौधरीले दिएकी थिइन् ।

कार्यशालाबाट विद्यार्थीको लेखन सीप मात्र नभई आत्मविश्वास, प्रस्तुतिकला तथा साहित्यिक अभिरुचिको समेत विकास भएको सहभागीहरूको अनुभव थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation