सोमवार, कार्तिक १८, २०८२

सशस्त्र प्रहरी ज्वालामाई गण भालुवाङले मनायाे २१औं स्थापना दिवस

भालुवाङ २ साउन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २९ गण हेडक्वाटर, ज्वालामाई-राप्ती गाउँपालिका–१, भालुबाङले २१ औं स्थापना दिवस विशेष समारोहसहित मनाएको छ । गणले अमर सशस्त्र प्रहरी शहीदप्रति सम्मान स्वरूप शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्दै समारोहको सुरुवात गरेको थियो ।

सो अवसरमा व्यवसायिक प्रतियोगितामा विजयी हुने तथा रक्तदान गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो । त्यसैगरी विविध सांस्कृतिक प्रस्तुति, हाजिरी जवाफ तथा खेलकुद प्रतियोगितामा प्रथम हुनेहरूलाई पनि सम्मान गरिएको थियो । उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र तथा सेवा निवृत्त कर्मचारीहरूलाई कदर पत्र प्रदान गरिएको थियो । अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई समेत विशेष सम्मान गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता सशस्त्र प्रहरी उपरीक्षक तथा गणपति मनोजकुमार धितालले गर्नुभएको थियो भने प्रमुख आतिथ्य सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यवासिनी वाहिनी मुख्यालय रुपन्देहीका सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा वाहिनिपति दीपेन्द्र कुँवर रहेका थिए ।

सम्बोधनका क्रममा वाहिनिपति कुँवरले सशस्त्र प्रहरीले सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन तथा राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरिरहेको बताए । उनले जस्तोसुकै परिस्थितिमा पनि शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सशस्त्र प्रहरी सधैं तत्पर रहेको उल्लेख गरे । विपद् व्यवस्थापनका क्षेत्रमा अझै सक्रियताका साथ कार्य गर्न मातहत इकाईहरूलाई निर्देशनसमेत दिए ।

त्यसैगरी प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, आन्तरिक सुरक्षा र विपद् व्यवस्थापनमा अत्यन्त प्रभावकारी भूमिका निर्वाह गर्दै आएको बताए ।

ज्वालामाई गणको इतिहासतर्फ फर्किंदा, वि.सं. २०५८ साल जेठ महिनामा यो क्षेत्र सशस्त्र प्रहरी बल, नेपालको तालिम केन्द्रको रूपमा स्थापना भएको थियो । पछि २०६१ सालमा उक्त तालिम केन्द्र बाँकेको नौवस्तामा स्थानान्तरण भएपछि, तत्कालीन सरकारले २०६० सालमै यही स्थानमा सशस्त्र प्रहरी बल, नेपाल-ज्वालामाई गण स्थापनाको निर्णय गरेको हो ।

हाल ज्वालामाई गणले दाङ जिल्लाको ८३ किलोमिटर लामो अन्तर्राष्ट्रिय सीमा सुरक्षाका साथै समग्र जिल्लाको शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी वहन गर्दै आएको छ ।

नेपाल–भारत सिमावर्ती क्षेत्रमा नेपालतर्फबाट १४ वटा सीमा सुरक्षार्थ इकाई तथा अन्य ३ वटा गरी कुल १७ वटा सुरक्षा इकाईहरू परिचालित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation