
भालुबाङ । दाङको राप्ती गाउँपालिका–२ रामनगरस्थित लालमटिया सुसमाचार मण्डलीको नवनिर्मित भवन बिहीबार एक समारोहका बीच उद्घाटन गरिएको छ ।
राप्ती गाउँपालिका, वडा कार्यालय तथा विभिन्न मण्डलीहरूको सहयोगमा कुल १९ लाख ८१ हजार २ सय ५५ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश विष्टले गर्नुभयो ।
मण्डलीका पार्टर राजन रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष विष्टले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता बोकेको साझा मुलुक भएको उल्लेख गर्नुभयो । उहाँले संविधानले धर्मनिरपेक्षताको व्यवस्था गरेर सबै धर्म तथा सम्प्रदायलाई समान अधिकार दिएको स्मरण गर्दै धार्मिक सहिष्णुता अझ सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
अध्यक्ष विष्टले राज्यले कसैलाई उपेक्षा नगरी सबैलाई समान दृष्टिले हेर्नुपर्नेमा जोड दिँदै, एक–अर्काको धार्मिक आस्था, परम्परा र अस्तित्वलाई स्वीकार नगरेसम्म सहअस्तित्व सम्भव नहुने धारणा व्यक्त गर्नुभयो । साथै उहाँले राप्ती गाउँपालिकाले सबै जाति, धर्म, लिङ्ग, वर्ग, भाषा र संस्कृतिलाई समेट्दै समान अवसर र अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा वडा नं. २ का अध्यक्ष पहलवान चौधरी, पूर्व वडा अध्यक्ष जगत थापा, समाजसेवी रमेशमान गुरुङ, बिजुवार सुसमाचार प्रचार मण्डलीका मास्टर देबु गिरीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
मण्डलीका अगुवा पदम गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मञ्जु सुनारले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न क्षेत्रका अगुवा, स्थानीयवासी तथा मण्डलीका सदस्यहरूको उपस्थिति रहेको थियो ।