
भालुबाङ २३ असाेज। दाङको राप्ती गाउँपालिकामा जनप्रतिनिधिहरूसँग आप्रवासी चरा तथा जैविक विविधता संरक्षण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल पंक्षी संरक्षण संघ काठमाडौंको आयोजनामा बिहीबार राप्ती गाउँपालिकाको सभाहल मसुरियामा “दाङ–देउखुरी चुरे वन तथा पश्चिम राप्ती सिमसार क्षेत्रमा आप्रवासी चराहरूको संरक्षणका लागि स्थानीय सरकार र समुदायको संलग्नता” परियोजनाअन्तर्गत उक्त अन्तरक्रिया सम्पन्न गरिएको हो ।
नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत भुपाल नेपालीका अनुसार कार्यक्रम जनप्रतिनिधि र स्थानीय समुदायबीच चरा तथा जैविक विविधता संरक्षणबारे चेतना अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको हाे । उहाँले कार्यक्रममा राप्ती नदी र आसपासका क्षेत्रमा पाइने स्थानीय र आप्रवासी चराहरूको वर्तमान अवस्था, चुनौती र संरक्षणका उपायबारे विस्तृत छलफल गरिएको जानकारी दिनुभयो ।
नेपालीका अनुसार, राप्ती सिमसार क्षेत्रमा हालसम्म ३ सय १९ प्रजातिका चराहरू फेला परिसकेका छन् । उहाँले यो क्षेत्र स्वदेशी र विदेशी चराहरूका लागि महत्त्वपूर्ण वासस्थान भएको उल्लेख गर्दै संरक्षणका लागि स्थानीय तह र समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै राप्ती गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले चराहरु लोप हुनुमा मानवका अमानवीय गतिविधि प्रमुख कारण भएको बताउनुभयो ।
“मानिसकै कारण अहिले चराचुरुङ्गी संकटमा परेका छन्,” उहाँले भन्नुभयाे ।
चरा संरक्षणका लागि मानिसहरूले आफ्नै व्यवहारमा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याउँदै गाउँपालिकाको तर्फबाट चरा तथा जैविक विविधता संरक्षण अभियानमा सहयोग र प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा राप्ती गाउँपालिका–४ का वडा अध्यक्ष विरबहादुर चौधरी, वडा नं. ५ का अध्यक्ष देवप्रसाद चौधरी, कार्यपालिका सदस्यहरू तथा विभिन्न शाखा प्रमुखहरूकाे उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत दिलीप चन्दले गर्नुभएको थियो ।