आइतवार, मंसिर २३, २०८१

Dangali Onlinekhabar

Advertisment

SKIP THIS

९ दिन भित्र मतगणना कार्य सम्पन्न हुने निर्वाचन आयोगको अनुमान

काठमाडौं । निर्वाचन आयोगले करिब नौ दिन भित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न गरिसक्ने अनुमान गरेको छ ।  निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सहज ढंगले सम्पन्न भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य सो समय भित्र सम्पन्न गरिसक्ने योजना रहेको बताएका हुन् ।

मंगलबार संक्षिप्त प्रतिक्रिया दिँदै उनले बाजुरामा भने मानवीय क्षति भएकाले स्थिति सहज भएपछि त्यहाँको निर्वाचन अधिकृतसँग आवश्यक छलफल गरी मतदानको मिति तय हुने समेत स्पष्ट पारे । सहायक प्रवक्ता अर्यालले भन्नु भयो, ‘प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फ दुवैको मतगणना जारी छ । प्रदेशसभाको पनि एकसाथ प्रत्यक्ष र समानुपातिकका मतगणना हुन्छ । हाम्रो राम्रोसँग सम्पन्न भएका र सही तरिकाले गणना प्रक्रिया अघि बढेका स्थानहरुको मत गणना आयोगले भनेजस्तै अवको ८/९ दिनमा सकिने अनुमान गर्न सक्छौ ।’

मंसीर ४ गते देशभर एकैसाथ मतदान भएको थियो । त्यसमध्ये १५ वटा मतदान केन्द्रमा भने मतदान स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । हाल प्रतिनिधिसभाको १३८ वटा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको र धमाधम मतपरिणाम आइरहेको पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।

हाल प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मतगणना भइरहेको छ । मतगणना रोकिएको कतिपय स्थानहरूमा भने राजनीतिक सहमति गरेर त्यहाँको मतगणना कार्य सुरु गर्ने पनि आयोगका सहायक प्रवक्ता अर्यालले बताए ।  आयोगले सबै क्षेत्रहरूमा मतगणना सुरु भएको मितिले २ दिन भित्र मतगणना गरिसक्ने योजनाका साथ काम गरिरहेको बताएको छ । स्थगन भएका कतिपय स्थानहरूको मत परिणाम भने अझै केही समय पर्खनुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2024 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation