
भालुवाङ ३० असोज । लुम्बिनी प्रदेशको राजधानी राप्ती गाउँपालिका–१ भालुवाङमा अवस्थित लिटिल एन्जल्स स्कुल राप्ती प्रा. लि. लाई पहिलो अन्तर्राष्ट्रिय सम्मान तथा पुरस्कार ‘एमर्जिंग स्कुल अवार्ड’ प्राप्त भएको छ ।
उक्त अवार्ड एक्जिटो एजुकेशनद्वारा आयोजित मलेसियाको राजधानी कोलालाम्पुरस्थित लिङकन युनिभर्सिटीमा सम्पन्न कार्यक्रम मार्फत प्रदान गरिएको हो ।
पुरस्कार लिङकन युनिभर्सिटी मलेसियाका सिईओ डा. मोहमद यूसोफ र प्रमुख डा. अमिया भूमिक लगायत विभिन्न देशका शैक्षिक विज्ञहरूले हस्तान्तरण गरेका थिए ।
२०६० सालमा स्थापना भएको लिटिल एन्जल्स स्कुलले अतिरिक्त क्रियाकलाप, आधुनिक प्रविधिको प्रयोग तथा उत्कृष्ट शैक्षिक गुणस्तर कायम गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्राप्त गरेको हो ।
स्कुलका प्रधानाध्यापक शोभाखर भुसालले मलेसियामा आयोजित कार्यक्रममा उक्त अवार्ड ग्रहण गर्नुभएको हो । उहाँ हाल पूर्वी एसियाली देशहरूको भ्रमणमा हुनुहुन्छ ।
कार्यक्रममा नेपाल, मलेसिया, फिलिपिन्स, यूएसए, युके, भारत, बङ्गलादेश लगायत विभिन्न देशका उत्कृष्ट विद्यालय, संस्था र व्यक्तित्वहरूलाई पनि इन्टरनेसनल एक्सेलेन्स अवार्डद्वारा सम्मान गरिएको थियो ।
अवार्ड प्राप्त भएपछि प्रधानाध्यापक भुसालले विद्यालयका सञ्चालक, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै जिल्लाको समग्र शैक्षिक गुणस्तरमा अझ जिम्मेवारीपूर्वक योगदान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । साथै, उहाँले आयोजक एक्जिटो एजुकेशनलाई पनि धन्यवाद दिनुभएको थियो ।