शुक्रबार, कार्तिक १५, २०८२

लुम्बिनी प्रदेशस्तरीय CSE प्राविधिक कार्यसमूह बैठक भालुवाङमा सम्पन्न

भालुवाङ १३ कार्तिक । नेपाल परिवार नियोजन संघ र संयुक्त राष्ट्रसंघीय जनसङ्ख्या कोष (UNFPA) को संयुक्त आयोजनामा लुम्बिनी प्रदेशस्तरीय Comprehensive Sexuality Education (CSE) प्राविधिक कार्यसमूह (Technical Working Group) बैठक भालुवाङमा सम्पन्न भएको छ ।

शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निमित्त महानिर्देशक नारायण प्रसाद पोख्रेलको अध्यक्षतामा सम्पन्न उक्त बैठकको उद्देश्य लुम्बिनी प्रदेशभर सञ्चालन भइरहेका CSE कार्यक्रमहरूको प्रगति समीक्षा गर्नु, चुनौतीहरू पहिचान गर्नु र आगामी दिनमा कार्यक्रमलाई अझ प्रभावकारी र दीगो रूपमा कार्यान्वयन गर्न साझा योजना तय गर्नु रहेको थियो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघ दाङ शाखाका शाखा प्रबन्धक बसन्त खनाल र UNFPA लुम्बिनी प्रदेश संयोजक राम थापाले प्रदेशका विभिन्न जिल्लामा सञ्चालन भइरहेका CSE कार्यक्रमहरूको अवस्था, उपलब्धि र सिकाइका विषयमा विस्तृत जानकारी प्रस्तुत गर्नुभयो । उहाँहरूका अनुसार विद्यालय, समुदाय र स्वास्थ्य संस्थामार्फत सञ्चालित कार्यक्रमहरूले किशोर–किशोरी तथा युवाहरूमा यौनिकता, लैङ्गिक समानता, प्रजनन स्वास्थ्य, आत्मविश्वास र निर्णय क्षमतामा सकारात्मक परिवर्तन ल्याइरहेका छन् ।

बैठकमा स्वास्थ्य मन्त्रालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक नोद नारायण चौधरी, वरिष्ठ नर्सिङ प्रशासक श्रीमती ईश्वरी के.सी., Plan International का सञ्जय शर्मा, Ipas नेपालका विष्णु देवकोटा, KIDS कपिलवस्तुका कार्यकारी निर्देशक कृष्ण दुबेदी, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरी र राप्ती गाउँपालिकाका स्वास्थ्य संयोजक नारायण रावत लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागी वक्ताहरूले विद्यालयको पाठ्यक्रममा बृहत यौनिकता शिक्षालाई नीतिगत रूपमा समावेश गर्नुपर्ने, युवा मैत्री स्वास्थ्य सेवाको पहुँच विस्तार गर्नुपर्ने र स्थानीय तहबीच सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो। उहाँहरूले CSE कार्यक्रमले युवाहरूमा वैज्ञानिक, व्यवहारिक र अधिकारआधारित ज्ञान विस्तार गरी उनीहरूलाई जिम्मेवार र सचेत नागरिकका रूपमा विकास गर्न सहयोग गरिरहेको उल्लेख गर्नुभयो ।

बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार, विद्यालय र समुदायस्तरमा सञ्चालन हुने प्रशिक्षण, परामर्श र संवाद कार्यक्रमहरूले बालविवाह, लिङ्गीय हिंसा र गलत यौन व्यवहार न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्‍याएका छन् ।

नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक बसन्त खनालले CSE कार्यक्रमले युवामा ज्ञानसँगै जिम्मेवार सोच, आत्मविश्वास र सुरक्षित व्यवहारको संस्कार विकास गरिरहेको बताउनुभयो । उहाँका अनुसार, यस्ता कार्यक्रमहरूलाई प्रदेश र स्थानीय तहको नीतिगत प्राथमिकतामा राख्न सकेमा किशोर तथा युवाहरूको जीवनस्तर र स्वास्थ्यमा दीर्घकालीन सुधार ल्याउन सकिनेछ ।

बैठकले CSE कार्यक्रमको प्रभावकारिता र दीगो कार्यान्वयन सुनिश्चित गर्न नीतिगत सुझावहरू तयार गर्ने, स्थानीय तहसँग सहकार्य सुदृढ गर्ने र विद्यालय तथा स्वास्थ्य संस्थामा कार्यक्रमको दायरा विस्तार गर्ने निर्णय गर्दै सम्पन्न भएको आयोजकहरूले जनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation