राप्तीमा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न : परम्परागत मौलिक कला–संस्कृति संरक्षणमा जोड

भालुबाङ १४ कार्तिक । दाङको राप्ती गाउँपालिकामा स्थानीय खाद्य परिकार तथा भैलो महोत्सव सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना तथा बेस संस्था तुलसीपुर दाङको सहकार्यमा शुक्रबार गाउँपालिकाको कार्यालय मसुरियामा उक्त महोत्सव सम्पन्न भएको हो । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री न्यौपानेले स्थानीयस्तरमा विद्यमान कला र संस्कृति संरक्षणमा गाउँपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।

उहाँले भैलो महोत्सव जस्ता कार्यक्रमहरूले लोपोन्मुख परम्परागत संस्कार र सांस्कृतिक मूल्यहरू जोगाउन योगदान गर्ने उल्लेख गर्नुभयो । “गाउँ र समाजमा रहेका मौलिक कला तथा संस्कृति जगेर्ना गर्दै ती संस्कृतिहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न आवश्यक छ,” मन्त्री न्यौपानेले भन्नुभयो ।

उहाँले लुम्बिनी प्रदेशको राजधानी समेत रहेको राप्ती उपत्यकामा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले पर्यटन विकासका लागि विशेष योजना अघि सारिने जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले भैलो महोत्सवजस्ता कार्यक्रमले समुदायमा रहेको सांस्कृतिक सम्पदा, सहकार्य र सामूहिक पहिचानलाई बलियो बनाउने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले हाम्रो संस्कृति, भेषभूषा र परम्परा जोगाउन सकेनौं भने समयसँगै ती हराउँदै जान्छन् । भैलो केवल नाचगान होइन, यो हाम्रो जीवनशैली, सामाजिक भावना र पीढीगत संस्कृतिको निरन्तरता हो ।” उहाँले यस्ता सांस्कृतिक महोत्सवलाई निरन्तर रूपमा प्रवर्द्धन गर्न स्थानीय सरकारको प्रयास सराहनीय भएको पनि बताउनुभयाे ।

त्यस्तै,राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थानीय खाद्य परिकार र परम्परागत मौलिक कला–संस्कृति संरक्षणको उद्देश्यले भैलो महोत्सवको आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार यो कार्यक्रम यस वर्षदेखि सुरु गरिएको हो र आगामी वर्षहरूमा पनि निरन्तरता दिइने छ । “भैलोले समाजमा सयौंदेखि चल्दै आएको एकता र सहकार्यको भावना जोगाइराखेको छ । त्यसैले गाउँ समाजमा जे मौलिक कला छ, त्यसको जगेर्ना गर्नु सबैको जिम्मेवारी हो,” अध्यक्ष विष्टले भन्नुभयो ।

पछिल्लो समय स्थानीयस्तरमा परम्परागत कला, संस्कार र संस्कृति लोप हुँदै गएको हुँदा ती संरक्षित गर्दै पालिकाभित्रका पर्यटन क्षेत्रको विकासलाई समेत जोड दिइने उहाँको भनाइ थियो ।

महोत्सवमा ९ वटा स्थानीय खाद्य परिकारका स्टलहरू र १३ वटा भैलो समूहहरूले सहभागिता जनाएका थिए ।

बदाम, तरुल, मासको खरिया, ढिक्री, केरा लगायत स्थानीय रूपमा उत्पादित पोषणयुक्त परिकारहरू प्रदर्शन गरिएको थियो ।

सहभागी भैलो समूहलाई प्रति समूह १० हजार रुपैयाँ यातायात खर्च प्रदान गरिएको थियो भने स्थानीय खाद्य परिकार प्रदर्शनीमा सहभागीहरूलाई बेस संस्थाद्वारा करिब ६५ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्याल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू,अन्य जनप्रतिनिधि, बेस संस्थाका जिल्ला सचिव रुपलाल चाैधरी,पालिकाका शाखा प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मी तथा संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रम गाउँपालिकाकि उपाध्यक्ष कमलापती चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमकाे सहजीकरण वरिष्ठ शिक्षा अधिकृत विश्वास विकले गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation