भालुबाङ । दाङको राप्ती गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ को विनियोजित बजेट कार्यान्वयनका लागि स्थलगत अवलोकन गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको पहलमा लुम्बिनी प्रदेश सरकारबाट धार्मिक तथा पर्यटकीय क्षेत्रकाे स्तराेन्नतीका लागि विनियोजित बजेट कार्यान्वयनकाे लागि स्थलगत अवलोकन गरिएको हाे ।
प्रदेश सरकारले पर्यटन डिभिजन कार्यालय, कोहलपुर मार्फत कार्यान्वयन हुने गरि करिब १ करोड ४६ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त विनियोजित बजेटमा २० प्रतिशत कटौती भई आएको कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे बताउनुभयो ।
अवलोकन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पर्यटन डिभिजन कार्यालय प्रमुख मुक्ति प्रसाद पाण्डे, इन्जिनियर राजकुमार निरौला, अन्य जनप्रतिनिधि र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।
अनुगमन पछि इन्जिनियर निरौलाले बजेट कार्यान्वयनका लागि आवश्यक प्रक्रिया छिट्टै अघि बढाइने जानकारी दिनुभयो । यससँगै गाउँपालिकाका धार्मिक र पर्यटकीय स्थलमा नयाँ आकर्षण थपिने अपेक्षा गरिएको छ ।











