जलवायु अनुकूलनका कामबाट स्थानीय स्तरमा रोजगारी सृजना गर्न सकिन्छ : अध्यक्ष विष्ट

भालुबाङ २१ कार्तिक । दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जलवायु अनुकूलनका कार्यक्रममार्फत स्थानीय समुदायमा प्रत्यक्ष रोजगारीका अवसर सृजना गर्न सकिने बताउनुभएकाे छ ।

कलाइम एडप्ट संस्थाको आयोजनामा तथा इन्टरनेशनल वाटर म्यानेजमेन्ट इन्स्टिच्युटको सहकार्यमा बिहीबार राप्ती गाउँपालिकाकाे हल मसुरियामा आयोजित “जलवायु कार्यमा प्रदेश र स्थानीय सरकारको भूमिका” विषयक छलफल कार्यक्रममा अध्यक्ष विष्टले जलवायु संकटलाई चुनौती मात्र नभई अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँकाे भनाइमा पछिल्लो समय गाउँघरमा पशुपालन घट्दै जाँदा खेतबारीमा उत्पादन हुने पराल व्यवस्थापन समस्या बनेको छ । “किसानहरूले पराल व्यवस्थापन गर्न नसक्दा जलाउन बाध्य भएका छन्, जसले वायु प्रदूषण बढाइरहेको छ,” उहाँले भन्नुभयो । “तर यही खेरजाने परालबाट कागज तथा प्राङ्गारिक मल उत्पादन गर्न सकिन्छ । त्यस्तै जंगलमा बर्सेनि सुकेर खेर जाने पात पतिङ्गर संकलन गरी मल उत्पादन गरेमा डढेलो नियन्त्रणसँगै रोजगारी समेत सृजना हुन्छ ।”

अध्यक्ष विष्टले जलवायु परिवर्तनका असरहरू खेतीपाती, खानेपानीको स्रोत, स्वास्थ्य, पर्यटन तथा समग्र अर्थतन्त्रमा देखिन थालेको उल्लेख गर्दै प्रदेश, संघीय सरकार तथा साझेदार संस्थासँग मिलेर अनुकूलनका कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागीहरूले स्थानीय स्तरमा जलवायु परिवर्तनका प्रभाव पहिचान, जोखिमयुक्त समूह तथा क्षेत्र निर्धारण, विद्यमान नीति र योजनामा जलवायु दृष्टिकोण समावेश, लैङ्गिक तथा सामाजिक समावेशीता, क्षमता अभिवृद्धि तथा व्यवहारिक अनुकूलनका उपायबारे आ–आफ्ना धारणा राख्नुभएकाे थियो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, सामुदायिक वन, खानेपानी, महिला समूह तथा गैर–सरकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमकाे सहजीकरण संस्थाका प्रतिनिधि डा. पपुलर जेन्टलले गर्नु भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal
© 2026 Dangali Onlinekhabar All right reserved Site By : Himal Creation