देउखुरी २२ कार्तिक । लुम्बिनी प्रदेश दाङ देउखुरीको राप्ती गाउँपालिका–२, सम्बृद्दि टोलका बासिन्दाले भैलो खेल्दा संकलित रकमबाट सामुदायिक प्रतिक्षालय निर्माण गरेर उदाहरणीय कार्य गरेका छन् ।
२०८२ को तिहारमा खेलेको भैलोबाट संकलित रकम सार्वजनिक हितका काममा लगाउने सर्वसम्मत निर्णय गर्दै टोलका युवायुवती, बुढापाका र कन्याहरूले संयुक्त रूपमा प्रतिक्षालय निर्माणको थालनी गरेका हुन् ।
भन्डारी टोल नजिकै रहेको सार्वजनिक स्थलमा चौपारीको बीचमा प्रतिक्षालय निर्माण कार्य सुरु गरिएको हो । निर्माण कार्यको शिलान्यास टोलकी कन्याहरूले नै गरेका थिए। उनीहरूले आफ्नै हातले खाडल खनेर पाइपको खम्बा गाड्ने, ढुंगा–माटो हाल्ने कार्य गर्दै फुल, अक्षता र पूजा गरेर प्रतिक्षालयको औपचारिक उद्घाटन गरेका थिए ।
उक्त कार्यक्रममा टोलका बुद्धिजीवी, समाजसेवी, बृद्ध–बृृद्धा, महिला तथा युवाहरूको उपस्थितिमा कन्याहरूले गरेको उद्घाटनलाई सामुदायिक चेतना र सहकार्यको उत्कृष्ट उदाहरणका रूपमा सराहना गरिएको थियो ।
सम्बृद्धि टोलका बासिन्दाहरूले सामूहिक प्रयास र पारदर्शी सोचका साथ गरेको यो कामले स्थानीयमा सामुदायिक भावना र एकताको सन्देश फैलाएको सहभागीहरूले बताएका छन् ।










