माैरीघाट १ मंसिर । दाङको राप्ती गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ को उपाधि आदर्श नमुना माध्यमिक विद्यालयले जितेको छ ।
गाउँपालिकाको वडा नं. ४ स्थित श्री माध्यमिक विद्यालय मौरीघाटको खेलमैदानमा आइतबार सम्पन्न प्रतिस्पर्धात्मक प्रतियोगितामा सहभागी ३५ विद्यालयमध्ये वडा नं. २, लालमटियास्थित आदर्श नमुना माध्यमिक विद्यालय विजयी बनेको हो ।
विद्यालयले ८ स्वर्ण, ५ रजत र ७ कास्यसहित कुल २० पदक प्राप्त गर्दै समग्र उपाधि हात पारेको हो ।
सोही क्रममा ७ स्वर्ण, ४ रजत र ९ कास्य गरी २० पदक प्राप्त गरेको श्री माध्यमिक विद्यालय मौरीघाट दोस्रो भयो ।
यस्तै ६ स्वर्ण, ९ रजत र ६ कास्य गरी २१ पदक जितेको सर्वोदय माध्यमिक विद्यालय सिसहनियाँ तेस्रो स्थानमा रह्यो ।
प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र २ कास्य गरी ९ पदक प्राप्त गरेको सिरिनभ्याली पब्लिक स्कुल मौरीघाट सान्त्वना स्थानमा रहन सफल भयो ।
मार्चपास प्रदर्शनमा ३० अंकसहित श्री माध्यमिक विद्यालय मौरीघाट प्रथम, २८ अंकसहित आदर्श नमुना मावि लालमटिया द्वितीय र २७ अंकसहित चैतन्य पाठशाला तृतीय भएका छन् ।
स्थानीय तहले सञ्चालन गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता दाङ जिल्लामा यस वर्ष पहिलोपटक राप्ती गाउँपालिकाले सुरु गरेको हो ।
“सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा भलिबल, एथलेटिक्स, ज्याभलिन थ्रो, हाईजम्प, सटपुट, लङ्जम्प, कबड्डी, टेक्वान्दोलगायतका विभिन्न खेल समावेश गरिएका थिए ।
विद्यार्थीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र अनुशासन विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता कार्तिक २८ देखि ३० गतेसम्म तीन दिनसम्म सञ्चालन गरिएको हो ।
आगामी वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस वर्षको विजेता आदर्श नमुना माध्यमिक विद्यालयले आयोजना गर्ने जनाइएको छ ।











