भालुवाङ ६ मंसिर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
तिलगंगा सर्जिकल आँखा केन्द्र र आध्या मेडिकल हलको प्राविधिक सहयोगमा राप्ती प्रेस मञ्चले शुक्रबार दाङको राप्ती गाउँपालिका–५ सिसहनियाँमा आयोजना गरेको पत्रकारहरुको नि:शुल्क आँखा तथा स्वास्थ्य जाँच शिविरको उद्घाटन गर्दै उनले प्रभावकारी र सुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार निरन्तर कार्यरत रहेको स्पष्ट पारेका हुन् ।
उनका अनुसार प्रर्वद्धनात्मक उपचार सेवामा सरकारले ध्यान बढाएको छ । लुम्बिनी प्रादेशिक अस्पताललाई नमुना संस्थाका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ । आधारभूत स्वास्थ्य सेवा बलियो बनाउँदै लगिएको छ । गाउँ तथा दुर्गम क्षेत्रमा चिकित्सक पठाउने व्यवस्थालाई सन्तुलित बनाइएको छ । स्वास्थ्यमन्त्री सारुले पत्रकारको भूमिका उल्लेखनीय रहेको बताउँदै सत्य र तथ्यमा आधारित समाचार लेखन आवश्यक रहेको धारणा राखे। उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि सूचना र तथ्यको सही प्रसारणले महत्वपूर्ण योगदान पुर्याउने उल्लेख गरे ।
राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको शिविरमा स्वास्थ्यमन्त्री सारु प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सहभागी ३२ जना पत्रकारहरुले आँखा तथा स्वास्थ्य जाँच गराएका थिए ।
आँखा जाँच गराएका पत्रकार मध्ये अधिकाशं पत्रकारहरुको आँखा कमजोर रहेकोले चश्माको प्रयोग गर्नुपर्ने तिलगंगा सर्जिकल आँखा केन्द्रका नेत्र अधिकृत बिमल बुढा क्षेत्रीले बताए । उनले आँखा स्वस्थ बनाउन खानपान र सागपातमा ध्यान दिनुपर्ने र समय समयमा आँखा जाँच गराउनु पर्ने सुझाव दिए । शिविरमा स्वास्थ्य तर्फ आध्या मेडिकलका सञ्चालक तथा स्वास्थ्यकर्मी सुदन घिमिरेले स्वास्थ्य परिक्षण र आँखा तर्फ तिलगंगा सर्जिकल आँखा केन्द्रका नेत्र अधिकृत बिमल बुढा क्षेत्री र नेत्र सहायक मिना जिएमले आँखा चेकजाँच गरेका थिए ।
सो अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष देवप्रसाद चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङका कार्यालय प्रमुख प्रहरी निरिक्षक पुष्करसिंह ऐरी, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
मञ्चका प्रमुख संरक्षक महेश रिजालले धन्यवाद ज्ञापन र वरिष्ठ उपाध्यक्ष सन्तोष कुमार गुप्ताको स्वागत मन्तव्यबाट सुरू भएको शिविर उद्घाटन कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ओमप्रकाश गुप्ताले गरेका थिए ।











